- नमोबुद्ध संवाददाता
हेटौंडा,२२ चैत :
नेवाः ताम्सालिङ समन्वय समितिले ३ नम्बर प्रदेशको नाम “नेवाः ताम्सालिङ प्रदेश” राख्न माग गरेको छ । समितिले ३ नं. प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई भेटी ध्यानाकर्षण पत्र बुझाएको छ । नेवाः देय दबूको केन्द्रीय अध्यक्ष नरेश ताम्राकार र नेपाल तामाङ घेदुङका महासचिव बाबु घिशिङको नेतृत्वमा हेटौडा गएको एक टोलीले ध्यानाकर्षण पत्र बझाएको हो ।
टोलीले मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै ३ नं. प्रदेशको राजधानी काभ्रे जिल्लाको बनेपा, धलिखेल र पनौती नगरपालिकालाई मिलाएर तोक्न पनि आग्रह गरेको छ । साथै, स्वायत्त, संरक्षित एवं विशेष क्षेत्र तोक्न समेत माग गरेको छ ।
सो क्रममा मुख्यमन्त्री डोरमणी पौडेलले यो प्रदेश सभाको क्षेत्राधिकारभित्र परेको हुँदा प्रदेशसभाले नै छिनोफानो गर्ने विषय रहेको बताउनुभयो । “हाम्रो ध्यानाकर्षण भएको छ, हामी सकारात्मक छौं, हाम्रो सहयोग रहन्छ ।” उहाँले भन्नुभयो –“भाषाको विषयमा भाषा आयोगको प्रतिवेदन अनुसार हुने हो । त्थसतर्फ पनि ध्यान दिनु पर्छ होला ।”