
- नमोबुद्ध संवाददाता
धुलिखेल,२१ चैत :
अन्य व्यवसायीले बस चलाएको विरोधमा काठमाण्डौंदेखी कोटेश्वर पूर्व चल्ने विभिन्न यातायात समितिले आफ्नो सेवा बन्द गराएपनि यातायात व्यवस्था विभागको तदारुकताका कारण बन्दको प्रभाव खासै देखिएको छैन ।
विभागले केही व्यवसायीले लगाएको एकाधिकार(सिन्डिकेट) तोड्न बुधबारदेखी बनेपा–धुलिखेलसम्म पटके इजाजत दिएरै भएपनि सार्वजनिक सवारी साधनलाई पठाउन थालेको छ ।
केहि दिनयता काभ्रे मिनिबस सेवा समिति र काभ्रे बस व्यवसायी संघले आफू मातहतका बस नचलाउँदा यात्रुहरु मर्कामा परेको विषयले विभागको ध्यान आकृष्ट भएको साना तथा मझौला यातायात कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले बताउनुभयो ।
विभागले बुधबारनै साझा यातायात प्रालि र सिटी मेट्रोका केही बस बिहान ८ बजेदेखि बनेपा–धुलिखेल रुटमा पठाएपछि स्थानिय यात्रु खुसी देखिएका छन् । काठमाण्डौंबाट कोटेश्वर पूर्व गाडी चलाइरहेका १३ मध्ये ११ वटा समितिले सार्वजनिक सवारी बन्द गरेपछि विभागले अस्थायी पटके इजाजातमा कम्पनी मोडलमा सञ्चालित गाडीलाई बनेपा,पनौती–धुलिखेल पठाउन थालेको हो ।
विभागका अनुसार अब काठमाण्डौंदेखी धुलिखेल तथा पनौतीसम्म मयुरसंगै,साझा यातायात,सिटी मेट्रो यातायात,अन्नपुर्ण यातायात,सिटी यातायात लगायतले ईजाजत पाउने देखिन्छ ।
मयुर यातायातले वुधबारदेखी धुलिखेलसम्म बस चलाउन थालेको छ । मेट्रो सिटि यातायातको पनि केहि बस धुलिखेलसम्म आईपुगेको छ । आवश्यकताअनुसार वस चलाउन नसक्दा बस यात्रुले खचाखच भरिएका देखिन्छन् ।
अहिले केहि सास्तीनै भएपनि नयाँ नयाँ समितिका बसहरु चल्ने भएपछि यात्रुहरु खुसीनै छन् । भर्खरै सञ्चालनमा आएको मयुर यातायातमा भेटिएका धुलिखेलका सम्झना मगरले भन्नुभयो– “सरकारको ध्यान बेलैमा गएकोमा हामी खुसी छौं, हामी सस्तो, सुविधायुक्त र सुरक्षित यात्रा चहान्छौं ।”
उहाँले पनि पुराना यातायात व्यवसायीको एकाधिकार शैलीको विरोध गर्नुभयो–“पुराना यातायात व्यवसायीले मै हुँ भन्ने पारा देखाए,यात्रुबाट मनपरी भाडा असुल्ने,अभद्र व्यवहार गर्ने गर्थे, मयुरसंगै मिलेर गाडी चलाको भए उनिहरुको यो अवस्था आउनेनै थिएननी,अब थुप्रै समितिका बसहरु आउने भए,हामीलाई त राम्रो भो नी ।”
अरनिको यातायात,हिमाल तराई यातायात लगायतले पनि सोच्ने बेला आएको दोलालघाटका शम्भु लामा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ –“बाटो जनताको करबाट सरकारले बनाको हो,अब पनि जनता नवुझ्ने छैनन्,स्वस्थ प्रतिष्पर्धाबाट यात्रुको मन जित्न सक्ने यातायात समितिका गाडीनै चल्ने हो, नयाँको पनि पारा उहि हुने हो भने विरोध भईहाल्छ,विकल्प आईहाल्छ,नयाँ नयाँ समितिका वसहरु गाउँगाउँ पुग्नुपर्छ,पुरानाहरुको दादागिरीको अन्त्य होस् ।”
“सक्छ भने मयुर गाउँसम्म जाओस्”
काभ्रेमा यातायात ब्यवस्था विभागबाट एक महिना अगाडी मयुर यातायातलाई बनेपासम्म चल्न दिएकोमा काभ्रे मिनिबस सेवा समिति र काभ्रे बस व्यवसायी संघ असन्तुष्ट छन् ।
मयुरलाई सुविधासम्पन्न ठाउँमा मात्र चल्न ईजाजतपत्र दिएको आरोप काभ्रे मिनिबस सेवा समितिका अध्यक्ष राजेश सुन्दर सैंजुको छ ।
चुनौतीका साथ उहाँ भन्नुहुन्छ “मयुरको २४ वटा गाडीलाई मात्रै राम्रो ठाउँमा ईजाजतपत्र दिएर भएन, सक्छ भने ग्रामीण भेगमा पनि चलाउनु प¥यो ।” यद्यपी प्रतिस्पर्धामा बस सेवा सञ्चालन गर्न आफुहरु पनि तयार रहेको अध्यक्ष सैंजुको भनाई छ ।
यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बन्द प्रति आफ्नो नैतिक समर्थन मात्र रहेको बताउनुभयो । उहाँको स्पस्टोक्ती छ –“बन्द हामीले होइनौं कोटेश्वर पूर्वका समितिहरुले गरेका हुन् ।”