• नमोबुद्ध संवाददाता

धुलिखेल,१५ चैत :
खानाका पारखिहरुलाई खुसीको खबर ! काभ्रेको पर्यटकिय ठाउँ धुलिखेलमा नयाँ वर्षको अवसरमा तामाङ,नेवारी,गुरुङ लगायतका समुदायका टिपिकल खानेकुरासंगै नयाँ नयाँ खानाका स्वाद समेत एकै ठाउँमा लिन पाउने भएको छ । यसका लागि धुलिखेल पर्यटन मेला तथा सडक खाना महोत्सनै हुनेभएको छ । चैत ३० र वैशाख १ गते दुई दिन बनेपा वर्दिवास वसपार्क धुलिखेल अर्थात अरनिको सालिक अगाडी(सडक)मा ४० भन्दा बढि स्टल हुनेछन् जहाँ साँस्कृतिक माहोलकाबिच विभिन्न खानाका परिकारहरुको व्यवस्था हुनेछ ।

महोत्सवमा विशेषगरी नेवारी परिकार पाईने महोत्सव आयोजक समितिका अध्यक्ष श्रवण तखाछेंले जानकारी दिनुभयो । विहिबार पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो –“आन्तरिक र वाह्य पर्यटकहरुलाई यहाँका आमा समुह,स्थानिय क्लवले मौलिक खानाका परिकारको व्यवस्था गर्नेछन्, शाकाहारीलाई प्याजको विशेष परिकार हुनेछ, होटल एशोसियसनका साथीहरुले पनि आ–आफ्ना खुवी प्रश्तुत गर्नेछन् ।” धुलिखेलको पुरानो वजारको अस्तीत्व उजागर गरी स्थानियको आर्थिक वृद्धि विकासमा सघाउने महोत्सवको मुख्य उद्धेश्य रहेको उहाँको भनाई छ ।

धुलिखेलमा रहेको सिद्धिनारायण,भगवती,कालि मन्दिरको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने उहाँको विश्वास छ । पुराना वजारका टोलटोलमा नागरिक सचेतना केन्द्र तथा आमा समुहहरुले विभिन्न मौलिक परिकारद्धारा पर्यटकलाई स्वगत गर्ने कार्यक्रम समेत रहेको तखाछेंले जनाउनुभयो ।

महोत्सवमा तामाङ समुदायको सेलो नाच,नेवारी समुदायको विभिन्न साँस्कृतिक नाचहरु झाँकीका रुपमा प्रश्तुत गरिनुका साथै स्थानिय जीवनशैली,संस्कृति र ईतिहास झल्कीने फोटो प्रदर्शनी तथा राष्ट्रिय कलाकारहरुको साँगितिक प्रश्तुती पनि हुनेभएकोले दर्शकहरु आकर्षित हुने आयोजकको दावी छ । नगरपालिकासंगको सहकार्यमा स्थानिय ३७ वटा क्लबहरुको मिलेमतोमा हुने महोत्सवको १० हजारले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस !