
- राजकुमार गोले
धुलिखेल,१३ चैत :
काभ्रे जिल्लाको दक्षिण भेगमा पर्ने बेथानचोक गाउँपालिका भुकम्प प्रभावितहरु आन्दोलित भएका छन् । बेथानचोक गाउँपालिका वडा नम्बर २ र ३ का ८५ घरधूरीले दोस्रो किस्ताको रकम प्राप्त गर्न पुष मसान्तभित्र फारम भरेपनि रकम नआएपछि उनिहरु ओन्दोलित भएका हुन् । उनिहरुले वडा नम्बर ३ का वडा कार्याालय महाँकालथानदेखि बिभिन्न नारा बाजी गर्दै मंगलबार २ नम्बर वडा कार्यालय चारदोबाटो अगाडी पुगेर विरोध सभा गरे ।
- प्रश्न–‘ हामीले भरेको फारम कहाँ हरायो ?
बेथानचोकका ८५ जना भूकम्पप्रभावितले आफुहरुको दोस्रो किस्ता रकमको फारम बेपत्ता पारेको आरोप लगाएका छन् । आफूहरुले भरेको फारमको रकम नआएपछि गाउँपालिकाको वडा नम्बर २ र ३ ढुंखर्कका भूकम्पप्रभावितले जिल्ला स्थित पुननिर्माण प्राधिकरणको सचिवालय, भवन डिभिजन कार्यालयमा आएर बुझ्दा फारम नै नभेटिएको बताएका हुन् ।
‘डिपीसी तह सकेर पुस २४ गते फारम भरेको थिएँ” –स्थानीय सोमनाथ तिमल्सिनाले भन्नुभयो ‘सँगैको साथीको पैसा आयो मेरो चाँहि आएन, के भएछ भनेर बुझ्दा तल्लो निकायबाट फारमनै जिल्लामा बुझाएका रहेछन् ।’
- एक अर्कामा अरोप प्रत्यरोप
इन्जिनियरको अभावमा लामो समयसम्म पनि दोस्रो किस्ताको फारम ति वडा नम्बर २ र ३ मा भरिएको थिएन् । ढिलोगरी तर छिमेकी वडा च्यासिङखर्कका इन्जिनियर ध्रुव सेढाईलाई बोलाएर फारम भर्न लगाइयो । समय गुज्रिसकेकाले उहाँले पनि फिल्ड नगई धमाधम फारम भर्नुभयो ।
‘फिल्ड जाने समय नै थिएन”‐उहाँले भन्नुभयो ‐“फोटोको आधारमा जनप्रतिनिधि राखेर फारम भरियो, पछि डिपीसी नगरेको ब्यक्तिको पनि फारममा नाम परेछ ।” इन्जिनियर सेढाईले थोरै समय र जनप्रतिनिधीहरुको दबाबका कारण समस्या उत्पन्न भएको तर्क गर्नुभयो । उहाँको भनाई छ– “सबैका प्रेसरमा काम गर्नु पर्ने,सबैले आफ्नो गाउँ टोलको मात्रै पहिला गर्न खोजे, मेरो तरिकाले काम गर्ने वातावरण भएन जिल्लामा पठाउँदा फिर्ता भएर आयो , सबैले इन्जिनियरलाई मात्र दोष दिन्छन्, मैले गाउँमा कोही चिनेको हुँदैन,जनप्रतिनिधीहरुसँगै गाउँमा गएर भनेको आधारमा काम गरेको हुँ ।”
वडा नम्बर २ का वडाअध्यक्ष भगवान घिमिरेले सबै काम इन्जिनियरले गर्ने किसिमको रहेको बताउनुभयो । “हामी त निर्देशन दिने हो,सबै कामको बारेमा थाहा हुदैन,गल्ती कमीकमजोरी भयो भने कार्बाही भोग्न तयार छु ।” उहाँले भन्नुभयो–“बाहिर हल्ला भएको जस्तो होइन, वास्ताविक प्रभावितले रकम पाउँनु पर्छ भन्ने मेरो मान्यता हो, वडा कार्यालयमा छुटेको भनेर गुनासो त आएको छ यसलाई गम्भिरुपमा लिएको छु ।”
- जनप्रतिनिधीकै आग्रहमा फारम रद्द
डिपीसी नगरेका ब्यक्तिको समेत फारम भरिएको गुनासो आएपछि जनप्रतिनिधिहरु अनुगमनमा पनि खटिएका थिए । ‘छड्के चेकजाँचका लागि मेरो घरमा पनि आउनु भएको थियो, सोमनाथले भन्नुभयो –‘मेरो त डिपीसी भईसकेरनै फारम भराएको थिएँ ।’ उक्त दुई वडामा पहिलो किस्ता पाएका १ हजार १ सय ५५ जना लाभग्राहि छन् । जनप्रतिनिधिकै आग्रहमा ४० देखि ४५ जनाको फारम रद्द गरिएको इन्जिनियर सेढाईले बताउनुभयो । रद्द गरिएको फारम सुरक्षित रहेको उहाँले जनाउनुभयो ।
वडा नम्बर ३ का वडाध्यक्ष दिल बहादुर श्रेष्ठले सुरुमा डिपीसी नसकिएका ७ जना लाभग्राहिले फारम भरेको र त्यो रद्द गरेर पछि डिपीसी सकिएपछि फारम भरेको बताउनुभयो ।