- राजकुमार गोले
धुलिखेल,१३ चैत :
काभ्रे जिल्लाको दक्षिण भेगमा पर्ने बेथानचोक गाउँपालिका भुकम्प प्रभावितहरु मर्कामा परेको भन्दै एमाले–माओवादीको बाम गठबन्धनले आपत्ति जनाएको छ । गठबन्धनले बेथानचोक गाउँपालिका वडा नम्बर २ र ३ का ८५ घरधूरीले दोस्रो किस्ताको रकम प्राप्त गर्न पुष मसान्तभित्र फारम भरेपनि रकम नआएपछि स्थानियले थालेको आन्दोलनमा एैक्यबद्धता जनाएको हो ।
भुकम्पपीडितहरुको गुनासो वडा कार्यालयले सुनुवाई नगरेपछि बाध्य भएर विरोध कार्यक्रमको नेतृत्व गरेको माओवादी केन्द्रका मर्दन सिं तामाङ पेमाले बताउनुभयो । ‘गाउँपालिकादेखि वडा कार्यालयसम्म काँग्रेसको मात्रै हाबी भएको र ति जनप्रतिनिधिले भुकम्प प्रभावितको पक्षमा काम नगरेको उहाँको आरोप छ । गाउँपालिकामा भएको अनियमितता र ढिलासुस्तीको पनि भण्डाफोर गर्ने उहाँले बताउनुभयो ।
स्थानीय भूकम्प प्रभावितले वेदप्रसाद तिमल्सिनाको नेतृत्वमा ७ सदस्यीय विरोध समिति समेत गठन गरेका छन् । माओवादीका पेमाका अनुसार माग सम्बोधनका लागि स्थानियले गर्ने हरेक विरोधका कार्यक्रमको बाम गठबन्धनले नेतृत्व गर्नेछ । स्थानियले मंगलवारदेखी आन्दोलनका कार्यक्रम सुरु गरिसकेका छन् । उनिहरुले वडा कार्यालय घेराउ र धर्ना कार्यक्रम गरेका हुन् ।