
- नमोबुद्ध संवाददाता
काठमाण्डौं,११ चैत :
आगामी बुधबारका लागि तय भएको अखिल नेपाल फुटवल संघ एन्फाको साधारण सभा र निर्वाचन स्थगित भएको छ । एन्फाको निर्वाचन समितिले आईतबार एक विज्ञप्ति जारी गर्दै पाटन उच्च अदालतले दिएको आदेशको पालना गर्दै निर्वाचन कार्यक्रम स्थगित भएको जनाएको हो ।
भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दिएको उजुरीमा ललितपुर उच्च अदालतका न्यायाधीश राजकुमार वनको एकल इजलासले यस्तो निर्णय गरेको थियो । दुवै संघले आफूलाई एन्फाले निर्वाचनबाट वञ्चित गरेको भन्दै उजुरी दिएपछि, उनीहरुलाई समावेश नगरी निर्वाचन गर्न नमिल्ने भन्दै अदालतले अर्को आदेश नआउँदासम्म निर्वाचन स्थगित गर्न निर्देशन दिएको हो ।
असन्तुष्ट पक्षले एन्फालाई विपक्षी बनाउँदै दिएको उजुरीमा अदालतले सुनुवाई गर्दै १५ दिन भित्र दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको छ । एन्फाले गत शुक्रबार पठाएको विवरणका आधारमा निर्वाचन स्थगित गर्ने निर्णय भएको निर्वाचन समितिका संयोजक सुमन केसी र सहसंयोजक लक्ष्मण थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यद्यपी निर्वाचन समितिले नयाँ निर्वाचन तालिका बारे केही उल्लेख गरेको छैन । यता फिफाले तोकिएको समयमै निर्वाचन नगरे कारबाही गर्ने चेतावनीसहितको पत्र एन्फालाई पठाइसकेको छ । एन्फाको अध्यक्षमा संस्थापन पक्षबाट मणि कुँवर र परिवर्तन धारबाट कर्माछिरीङ शेर्पाको प्यानल प्रतिस्पर्धामा छन् ।