- नमोबुद्ध संवाददाता
धुलिखेल,११ चैतः
देशभरका सरकारी कार्यालयका अधिकांश कर्मचारी फेसवुक चलाउन व्यस्त हुदा सेवागाही मर्कामा परिरहेका बेला कर्णालीमा प्रदेशका सरकारी कार्यालयमा फेसबुक चलाउन प्रतिबन्ध लगाउन गृहकार्य सुरु भएको छ । भौतिक विकासमा पछि परेको कर्णालीले प्रसंशायोग्य यो काम अघि बढाएको हो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्यालय समयमा फेसबुक चलाउन प्रतिबन्ध लगाउने बारे आईतबारबाट छलफल सुरु गर्नुभएको जानकारी दिनुभयो । मुख्यमन्त्री शाहीले सुर्खेतका इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रमुखलाई कार्यालयमै बोलाएर छलफल गर्नुभएको छ । छलफलपछि अबको केही दिनमै जनतासँग सम्बन्ध राख्ने सरकारी कार्यालयमा विहान १० देखि ४ बजेसम्म फेसबुक बन्द हुने मुख्यमन्त्री शाहीले बताउनुभयो ।
कार्यालय समयमा फेसबुक बन्द गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नै आधिकारिक रुपमा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई पत्र पठाउने छ । पत्र प्राप्त भएपछि सम्बन्धित कम्पनीले १० देखि ४ बजेको समयमा फेसबुक नचल्ने व्यवस्था मिलाइदिने गरी छलफल भएको मुख्यमन्त्री शाहीले बताउनुभयो ।
मुख्यमन्त्री शाहीले केहि दिन अघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कार्यालय समयमा फेसबुक बन्द गर्ने उद्घोष गर्नुभएको थियो । यसपछि विद्यालयमा पनि फेसबुक चलाउन यसरी नै प्रतिबन्ध लगाउने तयारी गरिएको मुख्यमन्त्री शाहीले बताउनुभएको छ ।