• नमोबुद्ध संवाददाता

धुलिखेल,०६ चैत :
विश्व मुख स्वास्थ्य दिवस मंगलबार नेपालमा पनि मनाईदैछ । काभ्रे लगायत देशभर विभिन्न स्वस्थ्य संस्थाहरुले मुख र स्वास्थ्यको समन्धबारे जनचेतना जगाउने खालका कार्यक्रमहरुको आयोजना गरेका छन् । मुख र स्वास्थ्यको समन्ध विशेषतःखानासँग जोडिएको हुन्छ । नियमित मुखको सरसफाइ नगरेमा मुख तथा श्वास गनाउने मात्रै नभइ मुखमा विभिन्न रोगसमेत लाग्ने डाक्टरहरु बताउँछन् ।
स्वस्थ खानाले मुख र दाँत स्वस्थ रहन्छ । स्वस्थ खाना भन्नाले शरीरको बृद्धि र विकासलाई चाहिने आवश्यक पौष्टिक तत्वयुक्त खाना भनेर बुझ्नुपर्दछ । कार्वोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन र खनिजपदार्थलाई स्वस्थ खानाका रुपमा बुझ्न सकिन्छ ।
अन्न, आलु, दूधजन्य परिकार र फलफूलमा कार्वोहाइड्रेट पाइन्छ । दाँतमा टाँसिने र रिफाइन गरिएको कार्वोहाइड्रेटयुक्त बिस्कुट, चकलेट, चाउचाउ, पाउरोटी जस्ता खानेकुरा दाँतका लागि हानिकारक हुने डाक्टरहरुको भनाइ छ । यी खानेकुरा खाएपछि दाँत सफा गर्नु जरुरी हुन्छ । यदि दाँतको दुखाइ भएमा नुन–पानीले कुल्ला गर्न सकिन्छ ।
एक कप मन तातो पानीमा एक चम्चा नुन मिसाएर मुख कुल्ला गर्दा दाँत दुखेको निको हुन्छ । नुन–पानीले मुखमा भएका फोहर खानेकुरा हटाएर सफा गरिदिदा पनि दुखाई कम गर्छ । ल्वाङको तेल राखेर पनि दाँतको दुखाइबाट मुक्ती पाउन सकिन्छ । तुलसीपत्ताको रस निमको पत्तालाई पिसेर लगाउँदा पनि दाँतको दुखाइबाट बच्न सकिने दन्त रोग विशेषज्ञहरु बताउँछन् ।
दन्त रोग विशेषज्ञ डा. सरोज घिमिरेका अनुसार बालबालिका र वृद्धवृद्धाको मुख तथा दाँतको सरसफाइमा विशेष ध्यानदिनुपर्छ । अन्य उमेर समूहका मानिसले आफ्नो दाँत तथा मुखको सरसफाइमा ख्याल गर्न सकेपनि बालबालिका र वृद्धवृद्धाको सवालमा परिवारका अन्य सदस्यले ध्यानदिनुपर्ने हुन्छ ।
सानैबाट दाँत तथा मुख स्वास्थ्यमा ध्यानदिन नसके विभिन्न खालका रोगले आक्रमण गर्न सक्ने स्वास्थ्यकर्मी बताउँछन् । बच्चाहरुलाई धेरै गुलियो चिज खान नदिने, चकलेट, विस्कुट जस्ता खानेकुरा खाएपछि दाँत सफा गरिदिने कुरामा अभिभावक चनाखो रहनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस !