
- नमोबुद्ध संवाददाता
काठमाण्डौं,०४ चैत :
भौतिक पुर्वधार तथा यातायातमन्त्री रघुवीर महासेठले प्रयाप्त स्रोत साधान हुँदाहुँदै पनि नेपालमा विकास हुन नसकेको भन्दै पाँच वर्ष भित्रमा काठमाण्डौमा रेल गुड्ने दाबी गर्नुभएको छ । आईतबार काठमाण्डौंमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै उहाँले नेपालमा रहेको स्रोत साधानको सदुपयोग हुन नसकेको बताउनुभयो । स्रोत र साधनको सदुपयोग भए पाँच वर्षमा काठमाण्डौंमा रेल गुडाउनु अनौठो नहुने उहाँको भनाई छ ।
नेपालमा सम्भावना रहेको खानी उत्खनन गर्दा विकास लागि नेपाललाई ५० वर्षसम्म कसैको मुख ताक्न नपर्ने उहाँले बताउनुभयो । नेपालले नसकेको अवस्थामा वैदेशिक साहायता लिएर भएपनि अब मुलुकमा समृद्धिको ढोका खुल्ने मन्त्री महासेठको भनाई छ ।
आर्थिक समृद्धि र भौतिक पूर्वाधारको विकास गर्न सरकार प्रतिवद्ध रहेको भन्दै उहाँले पाँच वर्षमा चमत्कार गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । पछिल्लो समय विकासको क्षेत्रमा फड्को मारेका सिङ्गापुर, मलेसिया र साइप्रस जस्ता मुलुकको उदाहरण दिंदै उहाँले सरोकारवाला निकायहरुसँग छलफल गरेर उपत्यकाको सडक र सवारी व्यवस्थापन गर्न योजना बनाइने स्पष्ट पार्नुभयो ।