- नमोबुद्ध संवाददाता
काठमाण्डौं,०२ चैत :
कर्मचारी सञ्चय कोषले संस्थागतरुपमा काम नगर्नेलाई समेत व्यक्तिगत रुपमा कोषकट्टीको सुविधा दिने भएको छ । कर्मचारी सञ्चय कोष ऐन, २०१९ को नवौं संशोधनपछि कोषले अनौपचारिक क्षेत्रमा काम गर्नेलाई पनि कोषकट्टीको सुविधा दिन लागेको हो ।
कोषले वैदेशिक रोजगारीमा रहेकालाई समेत कोष जम्मा गर्ने सुविधा दिने तयारी गरेको कोषका कार्यवाहक प्रशासकीय प्रमुख दीपक रौनियारले जानकारी दिनुभयो । कोषले कोष वृद्धि गरेर सात खर्ब पु¥याउने तयारी गरेको छ । अनौपचारिक क्षेत्रमा काम गर्ने, स्वरोजगारमा रहेका तथा व्यक्तिगतरुपमा कुनै व्यापार तथा व्यवसाय गर्नेलाई समेत कोषकट्टा गर्ने सुविधा दिन लागेको हो । सरकारले योगदानमा आधारित निवृत्तिभरण कार्यक्रम लागू गर्ने तयारी गरिरहेको सन्दर्भमा यस कार्यक्रमलाई समेत कोषमार्फत् अगाडि बढाउन दिन आग्रह गरेको छ ।
कोषमा रकम जम्मा गर्दै आएका सञ्चयकर्तालाई थप सुविधा प्रदान गर्न सेवाको विविधीकरण गर्न लागिएको कोषका कार्यवाहक प्रशासकीय अधिकृत रौनियारले बताउनुभयो । वैदेशिक रोजगारीमा रहेका युवाले विदेशमा कमाएको रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेकाले वृद्धावस्थामा समेत सहज जीवनयापनका लागि सहयोग गर्ने लक्ष्यका साथ कोषले वैदेशिक रोजगार बचत कोष सञ्चालनमा ल्याउन लागेको जनाइएको छ ।
कोषमा हाल दुई खर्ब ५५ अर्ब २९ करोड रहेको छ । कोषले आर्थिक वर्ष २०७३÷७४ मा एक खर्ब ८९ अर्ब खुद मुनाफा गरेको छ । यस्तो मुनाफा २०७२÷७३ मा रु १ खर्ब ५८ अर्ब रहेको थियो । कोषले नागरिक उड्डयन, जलविद्युत् जस्ता उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आएको छ ।