- नमोबुद्ध संवाददाता
काठमाण्डौं,०२ चैत :
प्रतिनिधिसभाले फागुन २८ गते त्रिभुवन विमानस्थलमा भएको युएस बंगला एअरलाइन्सको विमान दुर्घटनाप्रति विशेष प्रस्ताव पारित गरेको छ । संसदको शुक्रबारको बैठकले दुर्घटनाप्रति गहिरो दुख प्रकट गर्नुका साथै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विशेष प्रस्ताव पारित गरेको हो ।
संसद बैठकमा दुर्घटनामा ज्यान गुमाउनेको सम्मानमा एक मिनेट मौनधारण पनि गरिएको छ । फागुन २८ गते भएको विमान दुर्घटनामा ज्यान गुमाएका ५१ जनामध्ये २२ जना नेपाली, २६ जना बंगलादेशी र १ जना चिनियाँ नागरिक रहेका छन् । घाइतेमध्ये १७ जना काठमाडौंको विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् भने ३ जना डिस्चार्ज भएर घर फर्किएका जानकारी संसदमा गराईएको छ । विमानमा चालक दलका ४ जनासहित ७१ जना रहेकोमा ३३ जना नेपाली, चालक दलका सदस्यसहित ३६ जना बंगदलादेशी, १ जना चिनियाँ र १ जना माल्दिभ्सका नागरिक थिए ।
सदलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भविष्यमा यस्ता अप्रिय घटना हुन नदिन सरकार सचेत रहने बताउनुभएको छ । उहाँले विमान दुर्घटनाको कारण पत्ता लगाउन छानबिन आयोग गठन भएको र आयोगको सुझाव अनुसार भविष्यमा यस्ता दुर्घटना नहोस् भनेर सचेतता अपनाउने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले यस घटनालाई नेपाल सरकारले अत्यन्तै दुखद र गम्भीर घटनाको रुपमा लिएको पनि बताउनुभयो । सरकारले घटनाबारे जाँचबुझ गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरेको छ ।