• नमोबुद्ध संवाददाता

काठमाण्डौं,०२ चैत :
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । सरकारको नेतृत्वकर्ता दल एमालेबाट ६ मन्त्री बनेका छन् भने माओवादीका पाँच मन्त्री बनेका छन् । ओली सरकारमा चार राज्यमन्त्री पनि नियुक्त भएका छन् ।
ओली सरकारमा एमाले सचिव प्रदिप ज्ञवाली परराष्ट्रमन्त्री बन्नुभएको छ । अर्का सचिव गोकर्ण विष्टलाई श्रम तथा रोजगार र नेता रविन्द अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ । रघुवीर महासेठ भौतिक पुर्वाधारमन्त्री बन्नुभएको छ भने शेरबहादुर तामाङ कानुन र जगत विश्वकर्मा युवा तथा खेलकुद मन्त्री बन्नुभएको छ ।

काभ्रे २ बाट चुनाव जित्नुभएका गोकुल बास्कोटा ओली सरकारमा सञ्चार राज्यमन्त्री बन्नु भएको छ । उहाँ ओली सरकारमा अरु राज्य मन्त्रीभन्दा शक्तिशाली राज्यमन्त्री बन्नुभएको छ । अन्य राज्यमन्त्री मन्त्रि परिषद बैठकमा सहभागि हुने छैनन् तर बास्कोटालाई भने मन्त्रिपरिषद बैठकमा सहभागि गराउने गरी राज्यमन्त्री बनाइएको हो ।यस्तै लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि उहाँलाई जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
यस्तै माओवादी केन्द्रबाट पनि पाँच जना मन्त्री बनेका छन् । माओवादीबाट वर्षमान पुन उर्जा तथा जलस्रोतमन्त्री बन्नुभएको छ । उहाँ यसअघि अर्थमन्त्री भइसक्नुभएको थियो । गिरिराजमणि पोखरेल शिक्षा मन्त्री बन्दा शक्ति बस्नेतलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ । पोखरेल यसअघि शिक्षा र स्वास्थ्य मन्त्री भइसक्नुभएको छ भने बस्नेत पूर्वगृहमन्त्री हुनुहुन्छ । यसैगरी चक्रपाणि खनाल कृषि तथा शहकारी र विना मगर खानेपानी मन्त्री बन्नुभएको छ । कञ्चनपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित विना माओवादी अध्यक्ष प्रचण्डकी बुहारी पनि हुनुहुन्छ ।
नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसामू सपथ लिएका छन् । लगतै राज्यमन्त्रीहरुले प्रधानमन्त्री ओलीसमक्ष सपथ लिएका छन् । यससँगै ओली सरकार २२ सदस्यीय बनेको छ ।
मन्त्रिपरिषदलाई पूर्णता दिनुअघि सत्तारुढ दलविच तीन मन्त्रालय थप्ने सहमति भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भए लगत्तै ३० वटा मन्त्रालय घटाएर १७ मा झारिएको थियो । तर, दलको भागवण्डा मिलाउन फेरि मन्त्रालय थपिएको हो ।

प्रतिक्रिया दिनुहोस !