- नमोबुद्ध संवाददाता
धुलिखेल,०१ चैत :
जिम्बावेमा जारी आइसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको प्लेअफमा नेपालले पपुवान्यूगिनीमाथि शानदार जित हासिल गरेको छ । विहिबार भएको खेलमा नेपाल ६ विकेटले विजय भएको हो । त्यसअघि, टस जितेर नेपालले पहिले फिल्डिङ गरेसँगै पपुवा न्यूगिनीलाई निर्धारित ५० ओभरको खेलमा २७ ओभर २ बलमै अलआउट गर्दै १ सय १४ रनमा समेटेको थियो ।
प्रतियोगिताको ‘सुपर सिक्स’मा पुग्न असफल चार टोलीले सातौंदेखि दशौं स्थानसम्मको टुंगो लगाउन प्लेअफ खेलेका हुन् । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाउन यो खेलमा नेपालको जित र हङकङको हार जरुरी छ । विहिबारकै दोस्रो खेलमा यदि हङकङ विजयी भए नेपालले फेरि हङकङलाई पनि हराउनुपर्ने हुन्छ ।
विश्वकप छनोट खेलेका पाँच एसोसिएट देशमध्ये शीर्ष तीनले एक दिवसीय मान्यता पाउनेछन् भने पुछारमा रहने दुई टिम डिभिजन–२ मा घटुवा हुनेछन् ।