
- नमोबुद्ध संवाददाता
काठमाण्डौं,०१ चैत :
सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा पदभार ग्रहण गर्नुभएको छ । सर्वोच्च अदालतका अनुसार उहाँले विहिबारदेखी पदभार ग्रहण गर्नुभएको हो ।
सर्वोच्च अदालतको वेबसाइटमा प्रधानन्यायाधीश गोपाल पराजुलीको नाम हटाइ ‘कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी’ रहेको विवरण सार्वजनिक गरिएको छ । न्यायपरिषदका सचिव नृपध्वज निरौलाले बुधबार एक पत्र सार्वजनिक गर्दै प्रधानन्यायाधीश पराजुली गत साउन २१ गते नै पदमुक्त भएको जानकारी दिनुभएको थियो ।
सर्वोच्चको वेबसाइटका अनुसार कायम मुकायम प्रधानन्यायाधीशकै हैसियतमा जोशीले विहिबारका लागि मुद्दाको पेशीसमेत तोक्नुभएको थियो । विहिबार पेशी तोकिएका न्यायाधीशमा यसअघि प्रधानन्यायाधीश पराजुलीको इजलास वहिष्कार गर्ने न्यायाधीश चोलेन्द्र शमशेर जवराको नाम पनि छ ।