नमोबुद्ध संवाददाता
बनेपा,काभ्रे,१८ फागुन :
सिरियामा हालै भएको हिंसामा परेर ज्यान गुमाएका निहत्था ,अवोध बालबालिकाको आत्मशान्ति तथा समग्र जनताको चिरायु र शान्तीको कामना गर्दै दिप प्रज्वलन तथा मोलम पाठ कार्यक्रम गरिएको छ । हालै स्थापना भएको सदगुण जागरण नेपालले विहिबार साँझ बनेपाको चन्डेश्वरी मन्दिर परिसरमा संयौं विद्यार्थी तथा बालबालिकाहरुको उपस्थितिमा यस्तो कार्यक्रम गरेको हो ।
कार्यक्रममा ८० उमेरका शाकाहारी र धर्मात्मी सन्त बहादुर तामाङले शान्तिको पक्षमा उभिन सबै सहभागिलाई आह्वान गनुभयो । गाउँ गाउँ बाट अध्यनको लागि आएका झण्डै सय विद्यार्थीले त्यसमा एक्यवद्धता जनाउदै युद्धको सिकार भएका आफुहरुजस्तै सिरियाका अनाहक बालबालिकाहरुको आत्मशान्तिको कामना गरे अनि दिप प्रज्वलन गरे । घटनामा परि अशक्त भएकाहरुको सुस्वास्थ्यको कामना गरे । कार्यक्रमको संयोजन गरेका सदगुण जागरण अभियन्ता वीरबल तामाङले भन्नुभयो –“हराउदै गएको मानवता र गुमाउदै गएको करुणा तथा सदगुणको पुनर्जागरण गर्ने उद्देश्यअनुरुप यो कार्यक्रम हो ।”
बालबालिका शान्ति क्षेत्र रहेकोले सबै पक्ष संवेदनशील हुनुपर्ने समुहका अध्यक्ष आसुतोश थिङको भनाई छ । त्यस्तै समुहका अर्का पदाधिकारी चेत लामाले यस्तो कार्यक्रमले विश्वसामु सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्नुभयो । करिब ४ घण्टापछि सबै सहभागिले “बुद्ध आमिताभ” को सुत्र वाचन गरि विधिवत रुपमा कार्यक्रम समापन गरे ।