धुलिखेल,२२ फागुन ः
मिर्गौला प्रत्यारोपण सुरु भएको करिब एक दशकको अवधिमा नेपालमा झण्डै १ हजार २५ जनाको निशुल्क मिर्गौला प्रत्यारोपण भैसकेको एक तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा करिब ४ सय ८६, शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा ४ सय १० तथा वीर अस्पतालमा १ सय ३५ जनाको मिर्गौलाको सफल प्रत्यारोपण गरिसकेको सम्बन्धित अस्पतालले जनाएका छन् ।
नेपालमा त्रिवि शिक्षण अस्पतालले सन् २००८ अगस्ट ८ बाट नेपालमा सबैभन्दा पहिले मिर्गौला प्रत्यारोपण सुरु गरेको थियो । त्यसपछि, सन् २००८ डिसेम्बर १२ बाट मिर्गौलाको प्रत्यारोपण सुरु गरेको वीरले दश वर्षको अवधिमा करिब १ सय ३५ जनाको मात्र मिर्गौलाको सफल प्रत्यारोपण गरिसकेको जनाएको छ ।
वीरमा जस्तै, भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले पनि हालसम्म झण्डै ४ सय १० जनाको मिर्गौला निःशुल्क प्रत्यारोपण गरिसकको छ । स्थापना भएको करिब ५ वर्षको अवधिमा वर्षेनी १ सय २० भन्दा बढीको मिर्गौलाको सफल प्रत्यारोपण गरेर केन्द्रले विश्वकै ठूलो अस्पतालमा आफ्नो नाम दर्ता गराइसकेको छ ।