नमोबुद्ध संवाददाता

काठमाण्डौं,२२ फागुन ः
नेपालको दुई दिने भ्रमण पूरा गरी पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासी मंगलबार स्वदेश फर्कीनुभएको छ । उहाँलाई अर्थमन्त्री डा.युवराज खतिवडाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाई गर्नुभयो ।
स्वदेश फर्कनुअघि पाकिस्तानी प्रधानमन्त्री अब्बासीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुभयो । राष्ट्रपति कार्यालय शितल निवासमा पुगेर अब्बासीले भेटवार्ता गर्नुभएको हो ।
उहाँहरुबीच दुई मुलुकबीचको सम्बन्ध र सहयोग विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ ।
पाकिस्तान भ्रमणका लागि ओलीलाई निम्तो
प्रधानमन्त्री शाहिद अब्बासीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गर्नुभयो । भेटमा पाकिस्तानका प्रधानमन्त्री अब्बासीले नेपालको प्रधानमन्त्री बनेकोमा ओलीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

भेटवार्तामा विशेषगरी दुई देशको राजनीतिक र आर्थिक विकास विषय केन्द्रित कुराकानी भएको छ । प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्र सुदृढ गर्नुपर्ने काम जारी रहेको र चुनावी प्रक्रियाबाट राजनीतिक संक्रमणकाल अन्त्य गरेको भेटमा उल्लेख गर्नु भएको थियो ।

भेटवार्तामा प्रधानमन्त्री ओलीलाई पाकिस्तानका प्रधानमन्त्री अब्बासीले पाकिस्तान भ्रमणको निमन्त्रणा गर्नु भएको छ । ओलीले उपयुक्त समयमा आफूले पाकिस्तान भ्रमण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सार्क सम्मेलनबारे चासो

यसैबिच भेटमा पाकिस्तानका प्रधानमन्त्री अब्बासीले सार्क सम्मेलनबारे चासो राख्नुभएको छ । ओलीसंगको भेटमा उहाँले आफूले आगामी सार्क शिखर सम्मेलनको आयोजना गर्न चाहेको बताउनु भएको हो । समकक्षी ओलीसँग सार्क सम्मेलन पाकिस्तानमा गर्ने वातावरण मिलाउन आग्रह गर्नु भएको हो ।

सार्कको महत्वलाई थप प्रभावकारी बनाउन दुवै मुलुकका प्रधानमन्त्री सहमत भएको बताइएको छ । आगामी सार्क सम्मेलनका बारेमा सार्कका अन्य सदस्य राष्ट्रसँग थप छलफल गरेर निष्कर्षमा पुग्ने प्रधानमन्त्री ओलीले जानकारी गराउनु भएको थियो ।

प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्च टुंडिखेलमा सोमबार साँझ ‘गार्ड अफ अनर’ले सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !