नमोबुद्ध संवाददाता

काठमाण्डौं,२२ फागुन :
प्रतिनिधिसभाका सभामुखको निर्वाचन फागुन २६ गते हुने भएको छ । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकले फागुन २६ गतेका लागि सभामुखको निर्वाचन तोकेको हो । निर्वाचनसम्बन्धी कार्यतालिका भने संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले प्रकाशन गर्नेगरी ज्येष्ठ सदस्य महन्थ ठाकुरले रुलिङ गर्नुभयो ।
साथै बैठकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समिति’ गठन गरेको छ । प्रतिनिधिसभा सदस्य भानुभक्त ढकालले प्रस्तुत् गरेको ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरियोस’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । उक्त प्रस्तावलाई डा. रिजाल र कृष्णबहादुर महराले समर्थन गर्नुभएको थियो ।
समिति १३ सदस्यीय हुनेछ । समितिमा कृष्णभक्त पोखरेल, जुलीकुमारी महतो, दिलेन्द्रप्रसाद बडू, देवप्रसाद गुरुङ, प्रेम सुवाल, वृजेशकुमार गुप्ता, मीनबहादुर विक, डा. मीनेन्द्र रिजाल, रवीन्द्र अधिकारी, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, डा. विन्दा पाण्डे र विमलप्रसाद श्रीवास्तव सदस्य छन् । समितिलाई एक महिनाको कार्यावधि दिइएको छ ।

समितिले प्रतिनिधिसभा मातहत रहने समितिको नाम र संख्या तय गर्ने र प्रतिनिधिसभाको बैठक सञ्चालनको सम्पूर्ण कार्यविधि तय गर्नेछ । समितिले आवश्यकताका आधारमा विज्ञ तथा सहयोगी समेत लिन पाउने व्यवस्था गरिएको छ । समितिले सदस्य भित्रैबाट सभापति चयन गर्नेछ ।

यसैबिच राष्ट्रियसभा अध्यक्षको निर्वाचन आगामी फागुन ३० गते हुने भएको छ । राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा राष्ट्रियसभाका जेष्ठ सदस्य तारादेवी भट्टले फागुन ३० गते राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुने जानकारी गराउनुभएको हो । उहाँले राष्ट्रियसभाको अन्तरिम कार्यविधि २०७४ को दफा ६ को उपदफा १ अनुसार ३० गते बुधबार १ बजे राष्ट्रियसभा अध्यक्षको निर्वाचन तोकिएको बताउनुभयो । जेष्ठ सदस्य भट्टले राष्ट्रियसभा अध्यक्षको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न पनि संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिनुभयो ।
त्यसैगरी बैठकले राष्ट्रियसभा नियमावली मस्यौदा समिति पनि गठन गरेको छ । नौं सदस्यीय हुने गरी एमालेका सांसद खिमलाल भट्टराईले नियमावली मस्यौदा समिति गठन गरियोस भनि राखिएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
समितिमा गणेशप्रसाद तिमिल्सिना, परशुराम मेघी गुरुङ, दिलकुमारी रावल, सुरेन्द्रराज पाण्डे, राधेश्याम अधिकारी, दिनानाथ शर्मा, जीवन बुढा, बृजेषचन्द्र लाल र प्रमिला कुमारी सदस्य रहनुभएको छ । संविधानको धारा १ सय ४ को उपधारा १ बमोजिम राष्ट्रियसभा संचालन गर्न, बैठकको सुब्यवस्था कायम गर्न र समितिहरुको गठन, कामकार्वाही संचालन गर्न नियमावली मस्यौदा समिति गठन गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस !