- नमोबुद्ध संवाददाता
मेलम्ची,२१ फागुन :
कर्मचारीको आन्दोलनका कारण बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम ठप्प भएको छ । तलब नपाएको भन्दै आयोजनामा काम गर्दै आएकाकरिब ६ सय कामदारले दवावस्वरुप काम छोडेपछि खानेपानी आयोजनाको काम ठप्प भएको हो ।
मेलम्ची खानोपानी आयोजनाको काम गरिरहेको इटालियन कम्पनी सिएमसीले कामदारको विगत तीन महिनादेखिको तलब, संचयकोष र अन्य सेवा–सुविधा नदिएपछि उनिहरुले काम बन्द गरेका स्थानिय मेलम्ची एफएमका संवाददाताले जनाएका छन् ।
कम्पनीले पटकपटक सूचना टाँस गरेर कामदारको तलब दिने आश्वासन दिएपनि तलब नपाएको भन्दै कामदारहरू बिहिबारदेखि नै काम छोडेर हिँडेका छन् । आयोजनमा कम्तीमा अठार हजारदेखि बढिमा दुई लाखसम्म तलब खाने कामदार छन् । ती कामदारहरूले मंसिर महिनादेखि तलब नपाएको गुनासो गर्दै आएका छन् । उनिहरुले आयोजनाले माग सम्बोधन गरेमा छिट्टै काममा फर्किन सक्ने जनाउ दिएका छन् ।
यसरी पटक पटक कामदारहरूलेनै काम बन्द गर्नु र भुकम्प तथा अन्य बिविध कारणले गर्दा २०७५ को नयाँ बर्षमा काठमाण्डौंमा पानी पु¥याउने आयोजनाको लक्ष्यमाथि असर पर्ने देखिन्छ ।