नमोबुद्ध संवाददाता
काठमाण्डौं,१० फागुन :
प्रतिनिधि र राष्ट्रिय सभाका सांसदले आफ्नै भाषामा सपथ लिन पाउनेछन् । नेपालमा प्रचलित भाषा मध्ये सपथका लागि ८ भाषा उनिहरुले रोजेका छन् । विभिन्न सांसदले आफूले चाहेको भाषामा सपथ लिन संसद सचिवालयमा दिएको निवेदन हेर्दा उनिहरुको रोजाईमा विभिन्न ८ भाषा परेको छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सांसद पदको सपथ मैथिलीमा लिने हुनुभएको छ । यादव जस्तै राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले पनि मैथिलीमा सपथ लिने हुनुभएको छ ।
राजपा अध्यक्ष मण्डलकै अर्का नेता राजेन्द्र महतोले भने हिन्दीमा सपथ लिने भन्दै संसद सचिवालयललाई जानकारी दिनुभएको छ । राजपाकै महिन्द्रराय यादवले मातृभाषा बज्जिकामा सपथ लिँदै हुनुहुन्छ । त्यस्तै नेकपा माओवादी केन्द्रका हितवहादुर तामाङले तामाङ भाषामा सपथ लिनुहुनेछ । यो समुदायबाट शेरवहादुर तामाङ,गंगा वहादुर दोङ(वमध्वज) र नविना लामा पनि संघिय संसद सदस्य छन् । उनिहरुको रोजाईमा भने तामाङ भाषा परेन ।
संसद सचिवालयमा हालसम्म ४० भन्दा बढी सांसदले मातृभाषामा सपथ लिने जानकारी गराएका छन् । नेपालीपछि सबैभन्दा धेरै मैथिली भाषामा सपथ लिन सुचना सांसदहरुले संसद सचिवालयमा दिएका छन् । संसद सचिवालयले मातृभाषामा सपथ लिन चाहने सांसदलाई फागुन १८ गतेसम्म जानकारी गराउन समय दिएको थियो ।