नमोबुद्ध संवाददाता

काठमाण्डौं,१९ फागुन :
नेकपा एमाले र माओवादी केन्द्रले आफ्ना निर्वाचित सांसदहरुलाई संयुक्त प्रशिक्षण दिएका छन् । आगामी सोमबारदेखि संसदको बैठक सुरु हुने भएकाले त्यसअघि नै सांसदहरुलाई मुख्य दुई दलले निर्देशनात्मक प्रशिक्षण दिएका हुन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा शनिबार बसेको संयुक्त बैठकमा दुवै दलका संसदीय दलका नेताहरुले सांसदहरुलाई देश र जनताप्रति आफूलाई उत्तरदायी बनाउन निर्देशन दिए ।

बैठकमा प्रधानमन्त्री, एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले लोकतान्त्रिक मूल्य–मान्यताअनुरुप अघि बढ्न सांसदहरुलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले अनुशासित भइ संसदमा प्रस्तुत् हुन सांसदहरुलाई आग्रह गर्दै जनताले मन नपराउने कुनैपनि व्यवहार नगर्न पनि सांसदहरुलाई निर्देशन दिनुभयो । उहाँले आग्रह र पूर्वाग्रहबाट माथि उठेर जनताको सेवकका रुपमा आफूलाई प्रस्तुत गर्न पनि नवनिर्वाचित सांसदहरुलाई आग्रह गर्नुभयो ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आफूलाई जनताको सेवकका रुपमा ठान्न नयाँ जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । उहाँले देश र जनताका निम्ति अब नयाँ शैलीबाट अघि बढ्न सांसदहरुलाई निर्देशन दिनुभयो । प्रचण्डले जनताको भरोसालाई कुनैपनि हालतमा टुट्न नदिन आफूलाई सम्पूर्णरुपमा समर्पित गर्न सांसदहरुलाई अनुरोध गर्नुभयो ।
बैठकमा दुवै दलका अध्यक्षले अब छिट्टै नै पार्टी एकता हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस !