• नमोबुद्ध संवाददाता

काठमाण्डौं,१५ फागुन :
एमाले र माओवादी केन्द्र पार्टी एकिकरणको अन्तिम तयारीमा जुटेका छन् । यसक्रममा पार्टी एकीकरणपछि बन्ने पार्टीको अन्तरिम विधान र संगठनात्मक एकता सम्बन्धी बिधि तयार पार्न गठिन कार्यदलले प्रारम्भिक मस्यौदा बनाउन उपसमिति गठन गरेको छ । एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको कार्यदलको बैठकले यही २२ गते भित्र प्रारम्भिक मस्यौदा पेश गर्न २/२ सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलका सदस्य गोकर्ण विष्टका अनुसार अन्तरिम बिधानको प्रारम्भिक खाका मस्यौदा तयार गर्न माओवादीका वर्षमानपुन र एमालेका बेदुराम भुसाल रहेको उपसमिति गठन भएको छ । जनसंगठन, भातृ संगठन, सामुदायिक संगठन,पेशागत संगठन र बिभिन्न प्रतिष्ठानहरुको एकीककरण बिधि र नीति तय गर्न अर्को कार्यदल बनेको छ । कार्यदलमा एमालेका गोकर्ण विष्ट र माओवादीका गिरिराजमणि पोखरेल रहनु भएको छ ।
दुवै उपसमितिले २२ गतेको बैठकमा प्रारम्भिक रिपोर्ट पेश गरेपछि कार्यदलले थप छलफल गरेर फागुन २५ भित्र अन्तरिम बिधान र संगठनात्मक एकीकरणको बिधि पार्टी एकता संयोजन समिति समक्ष पेश गर्नेछ ।
यसअघिको बैठकमा दुवै दलले आआफ्नो बिधान, दस्तावेज र कमिटीहरुको विवरण आदानप्रदान गरेका थिए । पार्टी केन्द्रदेखि गाउँतहसम्मका कमिटीहरु एकीकरण गर्न यो कार्यदलले ठोस आधार तय गर्नेछ । भातृ संगठनहरुको एकीकरणको बिधि समेत कार्यदलले तयार पार्नेछ ।

प्रतिक्रिया दिनुहोस !