- नमोबुद्ध संवाददाता
काठमाण्डौं,१४ फागुन :
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका ७० प्रतिशतभन्दा बढी लाभग्राही नीजि आवास पुनर्निर्माण प्रक्रियामा संलग्न भएको जानकारी दिएको छ । फागुन १४ सम्मको तथ्याङ्कअनुसार भूकम्प अतिप्रभावित १४ जिल्लाका ६ लाख ६७ हजार ६ सय ६२ मध्ये ६ लाख १० हजार ५ सय भूकम्प प्रभावितसँग अनुदान सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सोमबार विज्ञप्ति निकालेर १ लाख २ सय ३६ घरको पुनर्निर्माण सम्पन्न भएको र ३ लाख ३२ हजार ३ सय २१ घर पुनर्निर्माण भइरहेको पनि जानकारी दिएको छ ।
यही अनुपातमा नीजि आवास पुनर्निर्माणको काम भए आउदो बर्खाअघि करिब ६० प्रतिशत पुनर्निर्माण भइसक्ने प्राधिकरणको आंकलन छ ।
नीजि आवास पुनर्निर्माणको समयसीमा तोकिएको र प्राविधिकहरु स्थानीय स्तरमा परिचालन गरिएको, डकर्मी तालिम संचालन गरिएको, निर्माण सामग्री तथा काठको आपुर्ति सहज भएकाले जिल्लामा घर बनाउने लाभग्राहीको संख्या बढेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले दाबी गर्नुभयो ।