- नमोबुद्ध संवाददाता
काठमाण्डौं,१३ फागुन :
शिक्षक सेवाआयोगले तत्काल परीक्षा स्थगित गर्दै आफ्ना माग सम्बोधन गर्नुपर्ने भन्दैै असन्तुष्ट अस्थायी शिक्षकहरुले आईतबार शिक्षक सेवा आयोगमा ज्ञापन पत्र बुझाएका छन् । छुट अस्थायी (करार) शिक्षक केन्द्रीय संघर्ष समितिको एक टोलीले आयोग पुगेर अध्यक्ष ताना गौतमलाई ज्ञापन पत्र बुझाएका हुन ।
आयोगमा शिक्षकहरुले २ घण्टा धर्ना समेत दिएका थिए । ज्ञापन पत्र बुझाउँदै उनीहरुले आफ्ना माग सम्बोधन नगरिए आन्दोलनका कार्यक्रम सशक्त रुपमा अगाडि बढाउने चेतावनी समेत दिएका छन् । साथै विद्यालयको पठनपाठन ठप्प पार्दै शैक्षिक हड्ताल सुरु गर्ने बताएका छन् ।
समितिका अध्यक्ष हरिवंश पराजुलीले माग सम्बोधन नगरिए आगामी चैतमा हुने विद्यालय स्तरको वार्षिक परीक्षा र एसईई परीक्षामा असहयोग गर्नुका साथै आमरण अनसन समेत बस्ने बताउनुभयो ।