- नमोबुद्ध संवाददाता
काठमाण्डौं,१३ फागुन :
नेपाली काँग्रेसले आईतबार पनि दलको नेता छान्न सकेन । पार्टीभित्र महोत्वाकांक्षी धेरै देखिन थालेपछि केन्द्रीय समिति बैठकले संसदीय दलको नेता चयन गर्न तीन सदस्यीयकार्यदल गठन गर्नुपरेको छ । आईतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले चीनकाजी श्रेष्ठको संयोजकत्वमा संसदीय दलको नेता चयनका लागि कार्यदल गठन गरेको हो ।
कार्यदल सदस्यहरूमा नवीन्द्रराज जोशी र भीष्मराज आङ्दम्बे रहेका छन् ।
कार्यदलले दलको नेता चयनका लागि फागुन २१ को मिति तोकेको छ । फागनु २१ गते संघीय संसद्को बैठक बस्न लागेकाले त्यसअघि कांग्रेसले संसदीय दलको नेता चयन गरिसक्नुपर्छ । बैठकले संसदीय दलको विधानलाई पनि अनुमोदन गरेको छ । कांग्रेसले संविधानको ढाँचाअनुसार संसदीय दलको पुरानो विधानलाई संशोधन गरी शनिबार नयाँ विधान बनाएको थियो ।
कांग्रेसबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको शनिबार बसेको संयुक्त बैठकले कांग्रेस संसदीय दलको विधान मस्यौदा सर्वसम्मतले पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाएको थियो ।
संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह आकांक्षी देखिनु भएको छ । २०५१ मा पार्टी पराजय हुँदा गिरिजाप्रसाद कोइराला आफैं संसदीय दलको नेता नबनी दोस्रो तहका नेतालाई अघि बढाएको उदाहरण दिँदै शशांकले अहिले पनि सभापतिले त्यसै गर्नुपर्ने तर्क गर्नु भएको छ ।
तर देउवा यसमा असहमत देखिएकोले कोईराला पछि हट्ने सम्भावना छ । कोईराला पछि हटेसंगै दलको नेतामा देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका सिंहबिच प्रतिस्पर्धा हुने देखिन्छ । सहमति हुन सक्ने नेदेखिएकाले चुानावबाट नेता चयन गर्ने तयारी भइरहेको नेपाली कांग्रेसका नेताहरुले जनाएका छन् । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् ।