
- नमोबुद्ध संवाददाता
बनेपा,काभ्रेपलाञ्चोक, १३ फागुन :
ट्रिपरको ठक्करबाट बनेपा नगरपालिका–४ नालामा आज एक विद्यार्थीको मृत्यु भएको छ ।
नालाबाट भक्तपुर जाने भित्रि सडकखण्ड अन्तर्गत नालामा बा ४ ख ६६०३ नम्बरको ट्रिपरले विहान बनेपा आउँदै गरेको बा१५प ८३६३ नम्बरको मोटरसाइकल चालक बनेपा नगरपालिका–१ का १४ वर्षीय अमिर पाण्डेलाई ठक्कर दिएको थियो । पाण्डेको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक महेन्द्र प्रसाद मरासिनीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पाण्डेको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको र बाटोमा नै मृत्यु भएको हो । ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक मरासिनीले बताउनुभयो ।
पाण्डे बनेपास्थित ज्ञानकुञ्ज उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थी रहेको विद्यालयका प्रबन्धक प्रताव वैद्यले जानकारी दिनुभयो ।