- नमोबुद्ध संवाददाता
काठमाण्डौं,१२ फागुन :
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले संविधान संशोधन नभएसम्म राजपा सरकारमा सहभागी नहुने बताउनु भएको छ । शनिबार राजधानीमा आयोजित साक्षात्कारमा उहाँले संविधान संशोधन भएमा मात्रै आफूहरु सरकारमा जानेबारे सोच्न सक्ने बताउनुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली संविधान संशोधन गर्न इच्छुक भएमा आफूहरु वार्ताका लागि सकारात्मक रहेको झाको भनाई छ । एमाले–माओवादीसहित राजपा र फोरम पनि मिल्यो भने संशोधनको लागि बहुमत पुग्नेमा उहाँको जोड थियो । नेता झाले विगतमा संविधान संसोधनको लागि एमालेको भूमिका सकारात्मक नरहेको भन्दै यथास्थितिमा फेरि एमाले नेतृत्वको सरकारमा सहकार्य गर्ने कुनै सम्भावना नरहेको टिप्पणी गर्नुभयो ।