- नमोबुद्ध संवाददाता
हेटौंडा,११ फागुन :
मकवानपुरमा जारी हेटौंडा गोल्डकपको फाइनलमा दुई विभागीय टीम त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीचको भेट पक्का भएको छ । आर्मीले सेमिफाइनलमा मनाङ मस्र्याङ्दीलाई १–० ले पाखा लगाउदै फइनल पुगेको हो भने पुलिस क्लबले संकटालाई २–० ले पराजित गर्दै आर्मीसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
दुबै टीमबिच शनिबार फाइनल भिडन्त हुनेछ । दुबै टिमले उपाधि आफूले जित्ने दाबी गरेका छन् । हेटौंडा गोल्डकपको पहिलो र दोस्रो संस्करणमा फाइनल खेलेको आर्मी दोस्रो संस्करणको विजेता हो । पहिलो संस्करणमा मनाङ मर्स्याङ्दीसँग पराजित भएको आर्मीले दोस्रो संस्करणमा मनाङलाई पराजित गर्दै उपाधि जितेको थियो । नेपाल पुलिस क्लब भने पहिलो पटक हेटौंडा गोल्डकपको फाइनलमा पुगेको हो
आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफूहरु छैठौं उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको भन्दै उपाधि जित्नेमा विश्वस्त रहेको बताउनुभयो । नेपाल पुलिसका प्रशिक्षक अनन्त थापाले खेलाडीहरु लयमा रहेको र युवा खेलाडी भएकाले उपाधि जित्ने दावी गर्नुभयो ।