• नमोबुद्ध संवाददाता

काठमाण्डौं,११ फागुन :
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेको तीन जनाको नाम ओली सरकारले उल्टाइदिएपछि सर्वोच्चमा रिट दायर भएको छ । देउवा सरकारको निर्णय उल्टाउँदै ओली सरकारले तीन जना नयाँ नाम सिफारिस गरेको थियो । जसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरिसक्नुभएको छ । देउवा सरकारले गरेको सिफारिस भने राष्ट्रपति विद्यादेवि भण्डारीले रोकेर राख्नुभएको थियो ।
देउवा सरकारका पालामा राष्ट्रियसभामा सिफारिस भएका गोपालकुमार वस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले शुक्रबार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीपरिषदको कार्यालय लगायतलाई विपक्षी बनाई रिट दायर गर्नुभएको हो । रिटमा नेपालको संविधानको धारा ४६ तथा १३३ (२) र (३) बमोजिम उत्प्रेषण तथा परमादेश लगायत अन्य उपयुक्त आदेश जारी गर्न माग गरिएको छ ।
देउवा सरकारको निर्णय उल्टाउँदै केपी शर्मा ओली नेतृत्वको सरकारले डा. युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो । ओली सरकारको निर्णय लगत्तै नेपाली काँग्रेसले यसबारे आपत्ति जनाउँदै कानुनी उपचार खोज्ने प्रतिक्रिया दिएको थियो ।

प्रतिक्रिया दिनुहोस !