
- नमोबुद्ध संवाददाता
जुगल,सिन्धुपाल्चोक ०८ फागुन :
सिन्धुपाल्चोकको जुगलगाउँपालिकाले गाउँपालिकाभित्रका शिक्षिकाहरुलाई सय दिनको सुत्केरी बिदा दिने भएको छ । विद्यालयमा पढाउने शिक्षिकालाई २ सन्तान जन्माउँदासम्म सय दिनको सुत्केरी बिदादिने निर्णय गरेको हो ।
सिन्धुपाल्चोकको जुगल ढाडेमा सम्पन्न शैक्षिक सम्मेलनले १० बुँदे घोषणापत्र जारी गर्दै पुरानो शिक्षा ऐनलाई संशोधन गरेको छ । विद्यालयलाई लैङ्गीक र अपाङ्ग मैत्री बनाउने निर्णय पनि गरिएको गाउँपालिका उपाध्यक्ष सृजना ताामङले जानकारी दिनुभयो । गाउँशिक्षा समितिबाट वैकल्पिक शिक्षकको व्यवस्थापन गर्ने निर्णय समेत भएको तामाङले बताउनुभयो ।
साथै विद्यालयलाई राजनैतिक हस्तक्षेप मुक्त बनाउने, बालबालिकालाई पढाईमा नियमित गराउन विविध कार्यक्रम संचालन गर्ने लगायतका बुँदा घोषणा पत्रमा उल्लेख छ । सम्मेलनमा गाउँपालिका भित्रका ४५ विद्यालयका १६६ जना शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक जुटेका थिए ।