• नमोबुद्ध संवाददाता

काठमाण्डौं,०८ फागुन :

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नेपाल सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा तीनजनाको मनोनयन गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’बमोजिम डा युवराज खतिवडा, रामनारायण बिँडारी र डा विमला पौडेललाई मनोनयन गर्नुभएको हो । मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले गरेको सिफारिस फिर्ता लिई नयाँ नाम पठाएको थियो ।

यसैबिच नेपाली काँग्रेसले सरकारले राष्ट्रियसभा सदस्यमा तीनजनाको नाम सिफारिस गरेकोप्रति विरोध जनाएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका नामबाहेक मन्त्रिपरिषद् बैठकले नयाँ नाम सिफारिस गरेकोमा काँग्रेसले विरोध जनाएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

प्रवक्ता शर्माले यसअघिका निर्णय उल्ट्याउँदै सरकारले गरेको निर्णयले आगामी दिनमा सत्ता र प्रतिपक्षबीचको दुरी बढ्ने चिन्ता व्यक्त गर्नुभयो । यस अघिको सरकारले राष्ट्रियसभा सदस्यमा कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीको नाम मनोनयनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । उनन्साठी सदस्यीय राष्ट्रियसभामा मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट तीनजना मनोनयन गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस !