• नमोबुद्ध संवाददाता

धुलिखेल,काभ्रे ०८ फागुन :
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आह्वान गरेको नेपाल बन्दको असर आंशिक रुपमा परेको छ । आफ्ना नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिट ब्युरो सदस्य पदमबहादुर राई‘विकास’लगायत टोलीलाई आइतबार बिनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै उसले मंगलबार गरेको नेपाल बन्दका कारण बढि मात्रामा शैक्षिक संस्थाहरु प्रभावित छन् ।
काठमाण्डौं उपत्यकामा यातायात सञ्चालनमा खासै प्रभाव नदेखिएपनि त्रासका कारण अधिकांश शैक्षिक संस्थाहरु बन्द छन् । तराई क्षेत्रमा निजी विद्यालयहरु बन्द भए पनि सरकारी विद्यालयहरु भने खुलेका छन् ।

बन्दको असर काभ्रे लगायतका पहाडी जिल्लाहरुमा बढि देखिएको छ । अरनिको र विपी राजमार्गमा सार्वजनिक सवारी सधनहरु कम मात्रामा चलेका छन् । शैक्षिक संस्थाहरु बढि प्रभावित छन् । ग्रामिण भेगसम्मका शैक्षिक संस्थाहरु बन्द छन् । पूर्वपश्चिम राजमार्गमा सवारी साधन चलिरहेका छन् । वीपी राजमार्गमा छोटो दुरीका सवारी साधन चले पनि बर्दिवासबाट काठमाडौंतर्फ आउने गाडी चलेका छैनन् ।

यद्यपी काभ्रेका प्रमुख जिल्ला अधिकार शिवप्रसाद शिम्खडाले जिल्लाको शान्ति सुरक्षा यथास्थीतिमै रहेको जानकारी दिनुभयो । बन्दको प्रभाव खासै नपरेकोे उल्लेख गर्दै उहाँले ढुक्कले निर्भयरका साथ आ–आफ्ना काम गर्न सकिने बताउनुभयो ।
यसैबिच नेपाल बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले विराटनगरको २ स्थानमा गाडीमा आगजनी गरेका छन् । मोरङको विराटनगरस्थित सलकपुर र ढाटमा मालबाहक ट्रकमा आगो लगाएको प्रहरीले जनाएको छ ।


मकवानपुरमा बन्दको प्रभाव छ । राजमार्ग क्षेत्रमा सवारी चलेका छैनन् भने हेटौंडाका उद्योग तथा कलकारखाना बन्द छन् । शैक्षिक संस्थामा पठन–पाठन भएको छैन । बजार क्षेत्रमा सुरक्षालाई मध्यनजर गर्दै प्रहरी परिचालन गरिएको छ । अहिलेसम्म जिल्लामा कुनै अप्रिय घटना नभए पनि हेटौंडा उपमहानगरपालिका–११, नवलपुरमा प्रेसरकुकर बम फेला परेको छ ।
त्यस्तै बन्द सफल बनाउन हिडेका दुई नेतालाई राजधानीमा प्रहरीले पक्राउ गरेको छ । यसैगरी कोशी राजमार्गअन्तर्गतको टंकी सिनुवारीमा दुईवटा सवारी साधानमा ढुंगा हानेको आरोपमा विप्लवका ४ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस !