- नमोबुद्ध संवाददाता
काठमाण्डौं,०७ फागुन :
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनौट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । (आइसिसी)ले पारस खड्काको कप्तानीमा चार वैकल्पिक खेलाडी सहित १९ सदस्यीय खेलाडीको घोषणा गरेको हो ।
टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, आरिफ शेख, रोहितकुमार पौडेल, वसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित भण्डारी, शक्ति गौचन, अनिलकुमार साह र ललितनारायण राजवंशी छन् । वैकल्पिकतर्फ सुनील धमला, किशोर महतो, सिद्धान्त लोहनी र विनोद भण्डारी रहेका छन् ।
फागुन २० गतेदेखि शुरु हुने छनोट खेलमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे, अफगानिस्तान, स्कटल्याण्ड र हङ्कङ छन् । नेपालले आफ्नो पहिलो खेल फागुन २० गते जिम्बावेसँग खेल्ने छ भने दोस्रो खेल फागुन २४ गते स्कटल्याण्डसँग, तेस्रो २६ गते अफगानिस्तानसँग र चौथो खेल २८ गते हङ्कङसँग खेल्ने छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोलीले सन् २०१९ मा इङ्ल्याण्ड हुने विश्वकप प्रतियोगितामा सहभागिता जनाउने छन् ।
यसैबिच विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले ३÷३ लाख रुपैयाँ दिने भएको छ । साथै यसमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले एक÷एक लाख रुपैयाँ थप्ने भएको छ । क्रिकेट खेलाडीको सम्मानमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशिक्षकसहित खेलाडीलाई जनही ३÷३ लाख दिने बताउनुभयो ।