• नमोबुद्ध संवाददाता

भक्तपुर,०६ फागुन :
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आईतबार भएको वान टु वान वार्ता बिना निष्कर्ष टुंगिएको छ । भक्तपुरको पुरानो ठीमीस्थित एक व्यापारीको घरमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डविच वान टु वान वार्ता भएको हो । वार्तामा पार्टी एकता र कार्यदिशाका साथै माओवादी केन्द्रको सरकारमा सहभागिताका विषयमा छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीले छलफल सकारात्मक भएको र पुनः छलफलमा बस्ने गरी आईतबारको वार्ता सकिएको बताउनुभयो । बैठकमा ओलीले माओवादीबाट सरकारमा सहभागि हुनेको नाम पठाउन प्रचण्डसँग आग्रह गर्नुभएको थियो । तर, प्रचण्डले एकीकृत पार्टीका लागि विवाद रहेको कार्यदिशाको विषयमा सहमति नभएसम्म पार्टी सरकारमा सहभागि नहुने जवाफ दिनुभएको बताइएको छ । माओवादीले २१ औं सताब्दीको जनवाद एकीकृत पार्टीको कार्यदिशा हुनुपर्ने अडान लिँदै आएको छ भने एमालेले जनताको बहुदलिय जनबाद बाहेक अरु विषयमा छलफल हुनै नसक्ने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !