
- नमोबुद्ध संवाददाता
काठमाण्डौं,०४ फागुन :
नेपालका आदिवासी तामाङ,शेर्पालगायत पहाडी र उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले सोनाम र ग्याल्बो ल्होसार (नयाँवर्ष) शुक्रबार विभिन्न कार्यक्रम गरी मनाईरहेका छन् । दज्र्यु गाड्ने,शुभकामना आदानप्रदान गर्ने,आफन्तजन भेटघाट,मोलमपुजा,मिष्ठान्न परिकार सेवन,नाचगान गरी शहरदेखी गाउँ गाउँसम्म ल्होछार मनाउने प्रचलन छ ।
चन्द्रपात्रो अनुसार माघ शुक्ल प्रतिपदादेखी नयाँ वर्ष फेरिने परम्परालाई मान्दै आएपनि मलमास परेको भन्दै नेपाल तामाङ घेदुङले यो पटकको सोनाम ल्होछार फागुन ४ मा मनाउन आग्रह गरेअनुसार तामाङ समुदायले पनि शुक्रबारनै ल्होछार मनाईरहेका हुन् ।
केहि तामाङहरुले भने माघ ४ को आसपासमै ल्होछार मनाईसकेका छन् । तामाङ समुदायको छाता सगठन घेदुङले भने २८५४ औं खि(कुकुर) वर्ष ल्होछार फागुन ४ गते मनाउन आग्रह गरेकोले केहि तामाङ जातिय संस्थाहरु र तिनका समुदायले शुक्रबार मनाईरहेका हुन् । विभिन्न संघसंस्थाहरुको सहभागितामा घेदुङको संयोजनमा शुक्रबारनै काठमाण्डौं तिनकुनेमा ल्होछार समारोहको आयोजना गरिएको छ । समारोहपुर्व वानेश्वर,कलंकी लगयतका तीन स्थानबाट हजारौंको संख्यामा साँस्कृतिक र्यालिको आयोजना गरिएको नेपाल तामाङ घेदुङले जनाएको छ । ल्होछारको पुर्वसन्ध्यामा विहिबार साँझ दिपावलीको आयोजना पनि गरिएको थियो ।
त्यस्तै भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँवर्ष सुरु हुने परम्पराअनुसार शेर्पा समदायले ग्याल्बो ल्होछार मनाईरहेका छन् ।
आफूहरुको संस्कृति अनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुने जानकारी दिदै शेर्पा संस्कृतिविद् टीका शेर्पाले बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन गरिने बताउनुभयो ।
यो शुक्रबारकै दिनदेखी १५ दिनसम्म बुद्धले ऋद्धि शक्ति माथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरिदैछ ।