- नमोबुद्ध संवाददाता
विराटनगर,०२ फागुन :
प्रदेश १ को मुख्यमन्त्री शेरधन राई बन्नुभएको छ । वुधबार प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले एमाले संसदीय दलका नेता राईलाई मुख्यमन्त्री नियुक्त गर्नुभयो । संविधानको धारा १ सय ६८ को उपधारा १ अनुसार प्रदेश सभामा बहुमतप्राप्त संसदीयदलका नेता राईलाई मुख्यमन्त्री नियुक्त गरको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
एमालेले राईको नेतृत्वमा सरकार गठन गर्न सोमबार आफ्नो दाबी प्रस्तुत गरेको थियो । ९३ सदस्यीय प्रदेशसभामा एमालेको एकल बहुमत छ । एमालेका ५१ सांसद छन् । मुख्यमन्त्री राईले विहिबार सपथ लिनुहुनेछ ।
त्यस्तै प्रदेश २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरमका लालबाबु राउत नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख रतनेश्वरलाल कायस्थले फोरमका संसदीय दलका नेता राउतलाई मुख्यमन्त्रीको नियुक्तको पत्र दिनुभएको छ । साथै मन्त्रिपरिषदको लागि बाटो पनि खुलेको छ ।
मुख्यमन्त्रीमा नियुक्त भएपछि राउतले मधेसी सहिदको सपना साकार पार्न मधेस सरकार बनाउने प्रतिक्रिया दिनुभयो । यस्तै, प्रदेश नं २ को प्रदेशसभाको सभामुखमा राष्ट्रिय जनता पार्टी नेपालका सरोजकुमार यादव निर्विरोध निर्वाचित हुनुभएको छ । प्रदेशसभाको पहिलो अधिवेशन अन्तर्गत वुधबारको बैठकमा यो जानकारी दिइएको हो ।