
- नमोबुद्ध संवाददाता
काठमाडौं,२८ पुस :
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको यो पटकको ‘प्रतिभा पुरस्कार’ कवि, कथाकार, पत्रकार एवं फिल्म निर्देशक फुलमान वललाई समर्पण गरिएको छ । शनिबार राजधानीमा आयोजित समारोहकाबिच वललाई दोसल्ला,ताम्रपत्र सहित १ लाख राशीको सो पुरस्कार समर्पण गरिएको हो । कविता,कथा,नाटक ,चलचित्र तथा सञ्चार क्षेत्रबाट सामाजिक रुपान्तरणमा खेलेको भुमिकाको उच्च कदर गर्दै वललाई सो पुरस्कारद्धारा पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राइले बताउनुभयो ।
रेडियो नमोवुद्ध एफ एम धुलिखेलका संस्थापक अध्यक्ष र हाल कान्तिपुर दैनिकका बरिष्ठ उपसम्पादक रहनुभएका वलको सिमान्तकृत समुदायको आवाज ‘महाभारतकी मैच्याङ’ कविता संग्रह,द्धन्दका अध्याँरा पाटाहरुलाई केलाई नयाँ जीवन आस्था पहिल्याउन उत्प्रेरणा दिने ‘काजोल खातुन’ कथा संग्रह,नारी र साँस्कृतिक जागरणबारेको ‘म्हेन्दोमाया’ नाटक प्रकाशित छन् । साथै उहाँले विश्वबजार र तिनले मार्दै लगेको सामाजिक साँस्कृतिक चेतनाबारेको ‘सेलफोन’ र ‘नीरफूल’ जस्ता चलचित्र निर्देशन गर्नुभएको छ । उहाँका ति कृतिहरुमार्फत राष्ट्रिय र अन्तराष्ट्रिय अवार्ड तथा पुरस्कारहरु प्राप्त गरिसक्नुभएको छ ।
साथै प्रतिष्ठानले बरिष्ठ कवि बेणु आचार्यलाई २० हजार रुपैंयासहितको ‘प्रतिभा सम्मान’ अर्पण गरिएको छ । प्रतिभा प्रतिष्ठान स्थापनाको दशौं वर्षको अवसरमा नेपाली भाषा र साहित्यको सम्बद्र्धनमा योगदान पुर्याउँदै आएको तीन संस्थाहरुलाई पनि यसपटक सम्मानित गरियो । धनगढीको सुदुर पश्चिमाञ्चल साहित्य समाज, इटहरीको संगीत साधना प्रतिष्ठान र भारत जलपाईगुडीको डा. पारसमणि प्रधान शालिक निर्माण समिति साहित्य,भाषा र संगितमार्फत योगदान गरेकोमा सम्मानित भएका हन् । समाजको तर्फबाट अध्यक्ष तथा मदन पुरस्कार विजेता स्रष्टा रामलाल जोशी, साधना प्रतिष्ठानको तर्फबाट महासचिव राजु केसी र सालिक निर्माण समितिको तर्फबाट अध्यक्ष प्रकाश क्षेत्रीले सम्मान ग्रहण गर्नुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काईलाले पुरस्कृत र सम्मानितलाई नगदसहित ताम्रपत्र हस्तान्तरण गर्नुभयो भने प्रतिभा प्रतिष्ठानका पुर्व अध्यक्ष एवं साहित्यकार राईले फूलमाला र दोसल्ला लगाइदिनुभयो ।
पुरस्कृत भएका वलले साहित्य सृजनामा पाईला चाल्दै गरेको आफ्नो लागि यो पुरस्कारले उर्जा थपेको बताउनुभयो । सम्मानित संघसंस्थाका प्रतिनिधिहरुले सरकारले सबैले अनुभुत गर्नेगरी पहलकदमी नगरेपनि नेपाली भाषा,संस्कृति,साहित्य,संगीतकलाको संरक्षणका लागि आ–आफ्नो तवरबाट आफुहरुले यसको सुरुवात मात्र गरेको बताए ।
एकताकाका जल्दाबल्दा कवि आचार्य र पत्रकारिता गर्दै साहित्यमा आफ्नो छुट्टै पहिचान बनाएका वललाई सम्मान गर्न पाउँदा खुसी लागेको साहित्यकार काईलाले बताउनुभयो । काईलाले प्रवासमा रहेर पनि प्रतिभा प्रतिष्ठानले नेपाली भाषा साहित्यमा योगदान पुर्याएका स्रष्टा र संस्थालाई सम्मान गरेर दिर्गकालसम्म नेपाली भाषा साहित्य जोगाउन मद्दत पुर्याएको दावी पनि गर्नुभयो ।
कवि श्रवण मुकारुङले भूगोलले निर्माण गरेको देश भन्दा कलासाहित्यले निर्माण गरेको देश ठूलो हुने बताउंदै राष्ट्रियतालाई फारकिलो बनाउन सम्मानित व्यक्तित्वहरुमा उत्साह थपिने विश्वस व्यक्त गर्नुभयो । उहाँले नेपालीहरुले विश्वका विभिन्न देशहरुमा छरिएर पनि नेपाली भाषा साहित्यको सम्बद्र्धनमा उत्तिकै योगदान दिइरहेको बताउनुभयो । प्राज्ञ उषा ठाकुरले यस्ता सम्मानले भुगोल र समाजलाई सदभावको मालामा जोड्ने दावी गर्नुभयो ।
कार्यक्रमको संयोजन गर्नुभएका प्राज्ञ शसि लुमुम्वुले साहित्य सृजनामार्फत नेपाली मन जोड्न लागि परेका सर्जक,व्यक्तित्वहरु सम्मानित भएकोमा खुसी व्यक्त गर्नुभयो । कवि एवं निबन्धकार मोमिलाले सम्मानित र पुरस्कृत स्रष्टाहरुबारे प्रकाश पार्दै आचार्य र वलको साहित्यिक योगदानको प्रसंशा गर्नुभयो । संस्थाहरुको बारेमा साहित्यकार देवी घिमिरेले प्रकाश पार्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष राईले प्रतिष्ठानको दश वर्षमा थुप्रै साहित्यिीक गतिविधिहरु चलाएको जानकारी दिनुभयो । उहाँले बेलायतमा नेपाली भाषा,साहित्य र संस्कृति संरक्षणका लागि पहल गर्ने प्रतिष्ठानै रहेको दावी गर्नुभयो ।