• नमोबुद्ध संवाददाता

काठमाण्डौं,२६ माघ :

प्रतिनिधिसभाको समानुपातिक तर्फ ५ दलले मात्रै सिट पाएका छन् । निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको समानुपातिक पद्धतितर्फ दलहरुले पाएको सिटमा समानुपातिकतर्फ चुनावमा सहभागि ४९ दलमध्ये एमाले,काँग्रेस,माओवादी लगायतका ५ दल मात्र परेका हुन् ।

आयोगका अनुसार सबैभन्दा धेरै मत एमालेले ३१ लाख ७३ हजार ४९४ अर्थात ३३ दशमलव २५ प्रतिशत पाएको छ भने सबैभन्दा कम हाम्रो पार्टीले ४ सय २६ मत प्राप्त गरेको छ । तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलले मात्र समानुपातिक सिट पाउने संवैधानिक व्यवस्था छ । त्यस अनुसार समानुपातिकको १ सय १० सिटमध्ये एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राजपा र फोरमले ६÷६ सिट पाएका छन् ।

आयोगका अनुसार एमालेले ३७, कांग्रेसले २०, माओवादीले १६, राजपाले ६ र फोरमले ५ महिला प्रतिनिधित्व सुनिश्चित गर्नु पर्नेछ ।

साथै आयोगले आफूले पाएको सिटमा कति महिला प्रतिनिधित्व अनिवार्य हुनुपर्छ भन्नेसमेत तोकेर दललाई पत्र पठाएको छ । संविधानको धारा ८४ को उपधारा ८ मा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलबाट निर्वाचित कूल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था छ । प्रत्यक्ष र राष्ट्रियसभा सदस्यबाट त्यो पूरा नभए समानुपातिकबाट पूर्ति गर्नुपर्छ ।

आयोगका अनुसार एमालेले ३७, कांग्रेसले २०, माओवादीले १६, राजपाले ६ र फोरमले ५ महिला प्रतिनिधित्व सुनिश्चित गर्नु पर्नेछ । यसो गर्दा एमालेले चार, कांग्रेसले २०, माओवादी र फोरमले एक÷एक पुरुषलाई मात्र समानुपातिक सांसद बनाउन सक्नेछन् । राजपाले भने सबै महिला मात्र पठाउनुपर्नेछ । आयोगले माघ २९ गतेभित्र विजयी गरिने सांसदको नाम बुझाउन दलहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस !