• नमोबुद्ध संवाददाता

धुलिखेल, काभ्रे, १७ पुस : प्रदेशसभा ३ का सदस्य गोमा भुर्तेलले सम्पत्तिमा महिलाको हक नभएसम्म महिला मुक्ति आन्दोलनले सार्थकता नपाउने बताउनुभएको छ । आर्थिक रुपमा महिला सक्षम नभएसम्म पितृसत्ताबाट दमित भएर बस्नुपर्ने उहाँको भनाई छ । रेडियो नमोवुद्धको विहानी वहस‘नमोवुद्ध डबली’संग उहाँले भन्नुभयो –‘जसले दुख गर्छ उसैको सम्मान छैन, यसरी भएन,सम्पत्तिमा महिलाको हक नभई हुन्न ।’

सम्पत्तिमा हक नभएकै कारण आफुले चाहेजसरी खर्च गर्न सक्दैनन्, त्यसैले पनि महिलाहरु प्रत्यक्षतर्फ चुनाव लड्न सक्दैनन् भन्ने मानसिकताको विकास नेपाली राजनीतिमा देखिएको छ

सम्पत्तिमा हक नभएकै कारण आफुले चाहेजसरी खर्च गर्न सक्दैनन्, त्यसैले पनि महिलाहरु प्रत्यक्षतर्फ चुनाव लड्न सक्दैनन् भन्ने मानसिकताको विकास नेपाली राजनीतिमा देखिएको प्रति उहाँले आपत्ति जनाउनुभयो ।

उहाँको दाबी छ –‘महिलाहरु पनि अहिले एकसेएक सक्षम छन् ।’ यद्यपी उहाँले महिलाहरुले आफ्नो दक्षताअनुसार घरधन्दादेखी कृषि,उद्योग कलकारखाना,सरकारी तहतप्कामा क्रियाशिल रहेपनि आफ्नै छोराछोरी तथा श्रीमानबाटनै विश्वास नपाउनु दुखको कुरा रहेको उल्लेख गर्नुभयो ।
कत्तिपय परम्परागत समाजमा महिलाहरुलाई घरधन्दामा सिमित राख्ने अवस्था रहेको यथार्थ बताउदै उहाँले अब भने बिस्तारै उनिहरुलाई पनि आर्थिक उपार्जनका काममा संलग्न गराउदै जाँदा सम्पत्तिको स्वामित्व ग्रहणमा अपनत्व महसुस हुदै जाने तर्क गर्नुभयो ।

कत्तिपय ठाउँमा मालपोतमा घरजग्गा नाम्सारी तथा पास गर्दा महिला र पुरुषकै नाममा गर्ने र मालपोतले पनि महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत कर छुट दिने जस्ता सकारात्मक अभ्यास थालिएको अवस्थामा पनि महिलालाई अझै दोस्रो दर्जाकै नागरिकको रुपमा हेरिने गरेको उहाँको दुखेसो छ । आज पनि दाईजोकै निहुमा कुटिनु जस्ता घटना भईरहनुलाई हलुका ढ्रगले लिन नसकिने भन्दै उहाँले यस्ता घटना पनि सम्पत्तिको हकसंगै जोडिने गरेको औंल्याउनुभयो ।

अखिल नेपाल महिला संघ काभ्रेको पुर्व अध्यक्ष तथा नेकपा एमाले प्रदेश नम्बर ३ का सदस्य समेत रहेका सांसद भुर्तेलले राजनीतिक शसक्तिकरणबाटै महिलाहरुलाई अघि बढाउन सकिने धारणा राख्नुभयो । उहाँले अहिलेसम्मको आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न सकेमात्रै पनि यसबाट ठुलो लाभ हासील गर्न सकिने बताउनुभयो ।

एमाले नेतृहरुकै सक्रियतामा नीति निर्माण तहमा ३३ प्रतिशत सहभागिता संविधानमा सुनिश्चित गराउन सकिएको दाबी गर्दै उहाँले सबै राजनीतिक दलहरुले आ–आफ्नो संगठन तथा नीति निर्माणको तहसंगै अवसरका क्षेत्रमा महिलाको आत्मसम्मानपुर्ण सहभागिता गराउनुपर्नेमा जोड दिनुभयो । नेकपा एमाले र काभ्रेली महिलाहरुले आफुमाथि गरेको विश्वासका लागि धन्यबाद दिदै उहाँले महिलाहरुको न्यायमा बल पुग्नेगरी कानुन,नीति नियम बनाउन आफु कत्तिपनि नचुक्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !