• नमोबुद्ध संवाददाता

धुलिखेल, काभ्रे, १२ पुष :  लोकतान्त्रिक दनुवार संघका केन्द्रिय अध्यक्ष रामचन्द दनुवारले नीति निर्माणको तहमा अल्पसंख्यक तथा सिमान्तकृत आदीवासी जनजाती समुदायको प्रतिनिधित्वको माग गर्नुभएको छ । मुलुक संघियतामा गएपछिको पहिलो प्रदेश र प्रतिनिधिसभाको चुनाव सकिएको र समानुपातिक कोटाबाट सांसद को को हुने भन्नेमा दोडधुप चलिरहेको सन्दर्भमा उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले समानुपातिक,समावेशीताको कुरा व्यवहारमा उतार्न सबै दल गम्भीर हुनुपर्ने बताउनुभयो । मुलुकको हरेक परिवर्तनमा मुख्य योगदान दिदै आएका समुदाय अझैपनि आफ्नो लागी आफैं नीति निर्माण गर्ने ठाउँमा पुग्न नसक्नु दुखत् रहेको उहाँको भनाई छ ।

नेकपा एमाले जिल्ला कमिटि मकवानपुरका पुर्व अध्यक्ष समेत रहेका दनुवारले रेडियो नमोवुद्धको विहानी वहास ‘नमोवुद्ध डबली’संग भन्नुभयो– ‘यो पाली पनि हाम्रो समुदायको उचित प्रतिनिधित्व हुने देखिएन ।’ निर्वाचन आयोगले समानुपातिकतर्फको संसद सदस्य छान्दा आपनाईएको विधिले पनि अल्पसंख्यक समुदायको प्रतिनिधित्व सहज नभएको उहाँको आरोप छ । आयोगले क्लस्टरबाट प्राथमिकता तोकिदा अल्पसंख्यक समुदाय यो पटकपनि त्यो अबसरबाट बञ्चित हुने देखिएको उहाँको तर्क छ ।

प्रत्यक्षमा हारेकाहरुलाई सांसद बनाउने चलखेल भईरहेको सन्दर्भमा सिमान्तकृत समुदायको प्रतिनिधित्वका लागि आफुले आफ्ना पार्टीमा लविङ भने गरिनैरहेको उहाँले जानकारी दिनुभयो । यस्तो अवस्थामा आदीवासी जनजाती राष्ट्रिय उत्थान प्रतिष्ठान,जनजाती महासंघ जस्ता निकाय मौन रहेकोमा उहाँले आपत्ति जनाउनुभयो । भन्नुभयो –‘प्रतिष्ठान सिमित आसेपासेलाई जागिर खाने र खुवाउने थलो मात्रै बनेको छ, जनजाती महासंघ एनजीओ हो, ऊ त्यही शैलीमा चलिरहेको छ ।’

पछिल्लो जनगणना २०६८ को विवरणअनुसार नेपालमा १२५ जातजाती रहेकोमा ९८ जातीमात्रै अल्संख्यक रहेको जनाउदै उहाँले ति प्रत्येक जातीको प्रतिनिधित्व गराउन नसकेपनि ति समुदायको भावनामा खेल्न भने नहुने बताउनुभयो । उहाँले ति समुदायलाई माथि उठाउने खालको नीति नियम बनाउने थलोमा केहि अल्पसंख्यक तथा सिमान्तकृत समुदायको उपस्थिति भने आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले दनुवार,माझी,तामाङ जस्ता सिमान्तकृत तथा आदीवासी समुदायलाई दलहरुले राजनीतिक भर्याङमात्रै बनाउन नहुनेमा सचेत पनि गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस !