• नमोबुद्ध संवाददाता

धुलिखेल, काभ्रे, १० पुस : नेकपा माओवादी केन्द्र काभ्रेका संयोजक रुकु चौलागाईले माओवादी केन्द्रले समानुपातिक तथा समावेशीताको भावनालाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभएको छ । निर्वाचन आयोगले प्रदेशतर्फ कुन पार्टीले कति सिट प्राप्त गरे भन्नेबारेको जानकारी सार्वजनिक गराएलगत्तै काभ्रे माओवादीबाट समानुपातिक प्रणालीबाट को को सांसद हुने भन्ने चर्चापरिचर्चाकाबिच उहाँले यस्तो बताउनुभएको हो ।

समानुपातिक निर्वाचन प्रणाली महिला,आदीवासी जनजाती,सिमान्तकृत समुदाय,पिछडिएका वर्ग सबैको प्रतिनिधित्व गराउनकै लागि भएको उल्लेख गर्दै त्यसको मर्मविपरित जान नमिल्ने उहाँको तर्क छ ।

‘नेपालमा समानुपातिक,समावेशीताको मुद्धा उठाउने माओवादीनै हो,त्यसैले अन्याय हुदैन ।’

रेडियो नमोवुद्धको विहानी वहस‘नमोवुद्ध डबली’ संग उहाँले भन्नुभयो–‘नेपालमा समानुपातिक,समावेशीताको मुद्धा उठाउने माओवादीनै हो,त्यसैले अन्याय हुदैन ।’ द्धन्दकालमा काभ्रेमा माओवादी शसस्त्र आन्दोलनको नेतृत्व समेत गरिसक्नुभएका चौलागाईले समावेशीता,विभेदको अन्त्यकै लागि महिलाहरुले पनि बन्दुक उठाएको स्मरण गराउनुभयो ।

उहाँले महिलाहरुलाई प्रदेश तथा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ चुनाव लड्ने उचित अवसर नदिएकोमा पनि असन्तुष्टि व्यक्त गर्नुभयो । अब संविधानले सुनिश्चित गरेको ३३ प्रतिशत सहभागिताका लागि भएपनि समानुपातिक सुचिबाट तान्नुको विकल्प नरहेको उहाँको भनाई छ ।

यत्तिबेला शक्तिकेन्द्र(माओवादी केन्द्रीय कार्यालय)मा प्रदेश र संघमा सांसदका लागि महत्वकांक्षीहरुको दौडधुप चलिरहेको छ । चौलागाई लगायत १० जनाको नाम समानुपातिक सांसदका लागि माओवादी काभ्रेले सिफारित गरेको थियो । काभ्रेबाट प्रतिनिधिसभा सदस्य बन्न उहाँसंगै मिना पाख्रिन,तेजवहादुर मिजार पनि दौडमा छन् ।

चौलागाईलाई सांसद नबनाउने खेल भईरहेको भन्ने चौलागाई पक्षको आरोप छ । उहाँले भन्नुभयो–‘पार्टीले आधिकारिक रुपमा निर्णय गरिसकेको छैन,मलाई पार्टीले विश्वास गरेकै छ ।’ आफूले हिजो द्धन्दकालमा पनि पार्टी सम्हालेको,अहिलेसम्म व्यक्तिगत लाभको पदमा पदमा पनि कहिल्यै नरहेकोले पार्टीमा आफ्नो योगदानको सम्मान गर्दै पार्टिले प्रतिनिधिसभा सदस्यको जिम्मेवारी दिनेमा उहाँको विश्वास छ ।

खस आर्य समुदायबाट अरु पनि महत्वकांक्षी रहेकोले चौलागाई पर्न नसक्ने एक थरीको विश्लेषण छ । आदीवासी जनजातीको दृष्टिले मिना पाख्रिन वा दलितको कोटाबाट तेजवहादुर मिजारको चर्चा पनि भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस !