गणतन्त्र दिवसको अवसरपारी राजविराज स्थित आफ्नै निवासमा एक प्रेस वक्तव्य जारी गर्दै  नेपालका प्रथम गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहले देशमा पुन नयाँ संविधान सभाको घोषणा गरेर राजनीतिक शक्तिहरुले जनतालाई फेरी धोका दिन लागेको बताउनुभएको छ । दुई वर्ष आयु रहेको संविधान सभालाई राजनीतिक दलहरुले आफ्नो अकर्मण्यताका कारण चार वर्ष सम्म लम्ब्याएर पनि संविधान जारी गर्न नसक्नु देशकै लागि दुर्भाग्य पूर्ण भएको भन्दै  नेपाल जस्तो गरिव मुलुकलाई जम्वो संविधान सभाले चार वर्ष सम्म कंगाल पारेको उल्लेख गर्दै जारी वक्तव्यमा वर्तमान सरकारले ल्याएको संविधान सभाको चुनाब सम्वन्धि प्रस्तावलाई अत्यन्तै खेदपुर्ण वताईएको छ । राजनीतिक शक्तिहरुकै कमि कमजोरीका कारण संविधान सभा विफल भएको भन्दै उहाँले सम्पूर्ण दलहरुलाई आत्म आलोचनाका गर्नु पर्ने बताएका छन् ।

राजनीतिक शक्तिहरुले पछिल्लो चार वर्षमा देखाएको नैराश्यता पूर्ण व्यवहारले संविधान सभावाट नेपालमा कहिले पनि संविधान आउन नसक्ने उहाँको ठहर रहेको छ । विवादीत विषयहरुलाई निष्कर्षमा ल्याई नयाँ संविधान जारी गर्न संवैधानिक आयोग एक मात्र विकल्प रहेको उहाँको भनाई छ ।  जारी  प्रेस वक्तव्यमा भनिएको छ–‘नेपालको परिवेशमा संसदिय प्रणालि वारम्वार असफल भईसकेकोले वर्तमान परिप्रेक्ष्य मा प्रत्यक्ष राष्ट्रपति निर्वाचित गर्नु  अपरिहार्य भैसकेको र उक्त निर्वाचित राष्ट्रपतिले संवैधानिक आयोग गठन गरी नयाँ संविधान जारी गरि देशलाई निकास दिनु पर्ने बताएका छन् ।’

संविधान सभाको वैठकले मुलुकमा गणतन्त्रको घोषणा गरे पनि उक्त लोकतान्त्रीक गणतन्त्रलाई चार वर्ष सम्ममा पनि संस्थागत नगरीएको प्रति गणतन्त्रवादी नेता सिंहले दुख ब्यक्त गर्दै  देश ठुलो संवैधानिक संकटमा रहेको वताउँदै  वर्तमान परिवेशमा देशमा देशी विदेशी शक्तिहरु नेपालको राष्ट्रियता विरुद्ध पनि षड्यन्त्र गर्न सक्ने आशंका गर्दै सबैलाई सचेत रहन आग्रह गर्नुभयो ।
नेपालमा सवभन्दा पहिले गणतन्त्रको आवाज उठाउने गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंह गणतन्त्र नेपालको स्थापना पश्चात भएको पहिलो राष्ट्रपति निर्वाचनमा राष्ट्रपति पदका उम्मेदवार समेत रहनु भएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस !