काभ्रेपलाञ्चोक–चौरीदेउराली गाउँपालिकाले मंगलबार आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो नीति तथा कार्यक्रमका साथै बजेट समेत सार्वजनिक गर्यो ।

गाउँपालिकाले पूर्वाधार विकासदेखि सामाजिक क्षेत्र एवं स्थानीय कृषि उत्पादनलाई बृद्धि गरी आर्थिक समृद्धिको पाटो बलियो बनाउने उद्घोषका साथ नीति तथा कार्यक्रम ल्याएको पाईएको छ ।

गाउँपालिका अध्यक्ष रेणुका चौलागाईँद्धारा १८ औं गाउँसभामा पेश भएको नीति तथा कार्यक्रममा पूर्वाधार क्षेत्रलाई मजबुत बनाउने उल्लेख छ ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष चौलागाईँले भन्नुभयो, –‘तीन वर्षसम्मको अथक प्रयासबाट जग्गाको काम सकेर गाउँपालिका भवन निर्माण भईरहेको छ, वडा भवनहरु बने, अस्पताल निर्माण भइरहेको छ, वडा टोलटोलमा सडकको विकास, शिक्षा, स्वास्थ्य, महिला, एकल महिला, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, बालबालिका, शहिद परिवार, दलित, आदिवासी सिमान्तकृत समुदायको उत्थानदेखि कृषिका क्षेत्रमा महत्वपूर्ण कामहरु गरेका छौं ।’

चौरीदेउराली गाउँपालिकाले गरेका राम्रा कामबारे छिमेकी गाउँपालिकाहरुमा चर्चा भएपनि गाउँपालिका आफैंले प्रचारमा ल्याउन नसकेको उहाँको भनाई छ ।

२०७९ को स्थानीय निर्वाचनबाट निर्वाचित आफूहरुको ४ वर्षको कार्यकाल सम्पन्न भएपछि अन्तिम वर्ष प्रवेशमा आयोजित गाउँसभाले अधुरा योजनाहरु सम्पन्न गर्ने प्रण गरेको उहाँले बताउनुभयो । उहाँले अधुरा सडक तथा अन्य भौतिक पूर्वाधार विकास, खानेपानी हुदै स्वास्थ्य, शिक्षा र कृषिका कामहरु गर्ने नीति यो सभाले ल्याएको अध्यक्ष चौलागाईँले जानकारी दिनुभयो ।

उहाँले भुगोल र जनसंख्यालाई आधार बनाई नीति, बजेट निर्माणको आधारलाई सम्मान, समानुपातिक रुपमा समान ढंगले कसैलाई पाखा कसैलाई काखा नगरी बजेट विनियोजन गरी कार्यन्वयन गर्ने गरिएको उल्लेख गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष शेर बहादुर लामाले निर्वाचनका बेला जाहेर गरेका धेरै प्रतिवद्धताहरु पूरा गर्ने काम भएको बताउनुभयो ।

आफूहरु जनप्रतिनिधिको रुपमा आएपछि कुनै भुगोल, राजनीतिक आस्थाबाट विभाजित नभई सिंगो गाउँपालिका निर्माणमा जुटेको उहाँको भनाई छ ।

गाउँपालिका प्रवक्ता, वडा नं. ८ का वडा अध्यक्ष धन बहादुर तामाङले हिजो झोलामा अफिस सञ्चालन गर्नुपर्ने, लड्दै चिप्लिदै पुग्ने गाउँबस्तीमा संघीय शासन व्यवस्थासँगैको स्थानीय सरकारमार्फत विकासमा फड्को मारेको बताउनुभयो ।

‘सडक नभएको ठाउँमा सडक पुर्यायौं, वडा वडामा प्राविधिक छन्, सुविधा सम्पन्न पक्की भवनहरुमा विद्यार्थीहरु पढ्दैछन्, धेरैका घरघरमा धारा, सुरक्षित पोल तार वाइरिङसहितको विजुली, फाइवर नेट, कृषिमा यन्त्रीकरण, वडा वडामा स्वास्थ्य चौकी, पूर्ण दरवन्दीसहितको कर्मचारी जनशक्तिद्धारा प्रशासनिक सेवा दिइरहेका छौं ।’‐उहाँले भन्नुभयो, ‘यो सबै संघीय व्यवस्थापछि हाम्रै पालामा हाम्रै स्थानीय सरकार आएपछि भएको उपलब्धी हो भनेर स‐गर्व भन्नु सक्नुपर्दछ र अझ थप उपलब्धीका लागि प्रतिवद्ध भई लागिरहेका छौं ।’

केहि पनि भएन भनेर नकारात्मक भाष्य निर्माण गर्न खोज्नेहरुका लागि यो परिवर्तन गतिलो जवाफ रहेको उहाँको भनाई छ ।

विकास आफैंमा असिमित आकांक्षा र निरन्तर चल्ने प्रक्रिया रहेको धारणा राख्नुहुदै उहाँले चौरीदेउराली गाउँपालिकाको १८ औं सभा गाउँपालिकाले यस अघिका अधुरा कामहरु सम्पन्न गरेरै छाड्ने मर्म भावनाका साथ नीति तथा कार्यक्रम ल्याएको जानकारी दिनुभयो ।

गाउँपालिकाको समृद्धिको मुख्य आधार कृषि र पर्यटन रहेको उल्लेख गर्नुहुदै उहाँले गाउँ टोलमा सडक लगायतका पूर्वाधार निर्माण भएको भएपनि उत्पादनमा लाग्ने युवा पुस्ता विदेशिने क्रम बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । विदेशिएका युवा शक्तिलाई गाउँमै फकाई उत्पदनमा लगाउन सकेमा गाउँपालिका समृद्धिको सपनाले मुर्त रुप लिने उहाँको भनाई थियो ।

सभा सञ्चालक प्रमुख प्रशासकीय अधिकृत चक्र बहादुर श्रेष्ठले गाउँपालिकाले अंगीकार गरेको नीति, कार्यक्रम र बजेटको सफल कार्यन्वयनका लागि कर्मचारी प्रशासन प्रतिवद्ध रहेको बताउनुभयो ।

यस्तो छ गाउँपालिकाको प्राथमिकता

गाउँपालिकाको नीति तथा कार्यक्रमले अधुरा भवन, सडक लगायत भौतिक पूर्वाधार सम्पन्न गर्ने, सबैलाई खानेपानीको पहँचमा पुर्याउने, स्वास्थ्य, शिक्षा र कृषिका कामहरु गर्नेमा जोड दिईएको छ ।

नीति तथा कार्यक्रममा व्यवस्थित प्रशासनिक भवन नहुँदा जनताले भोग्नुपरेको सास्तीलाई अन्त्य गर्न चालु भवन निर्माण कार्यलाई तीव्र रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

यस्तै, स्वास्थ्य क्षेत्रतर्फ गाउँपालिकामा निर्माणाधीन १५ शैय्याको अस्पताल भवनको कार्यलाई पनि आगामी आर्थिक वर्षभित्रै सम्पन्न गरिने नीतिमा उल्लेख छ ।

गाउँपालिकाले नयाँ सडक ट्र्याक खोल्नुभन्दा पुराना र बनिसकेका सडकहरूको स्तरोन्नति (अपग्रेडिङ) गर्ने नीति लिएको छ । स्थानीय सडकहरूलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउनका लागि खाल्डाखुल्डी पुर्ने र मर्मतसम्भार गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ ।

प्राकृतिक प्रकोप वा अन्य कारणले सडक अवरुद्ध भएमा तत्काल खुलाउनका लागि ‘आकस्मिक मर्मत तथा व्यवस्थापन कोष’ स्थापना गरिने महत्वपूर्ण घोषणा गरिएको छ । आगामी आर्थिक वर्षका लागि गाउँपालिका स्तरीय मुख्य ३ वटा सडक आयोजनाहरू गोठपानी‐विर्ता देउराली सडक निर्माण, गुम्बाटी‐बाङथली सडक निर्माण, देउराली‐ज्यामिरे बोक्से सडक निर्माणको लागि बजेट ब्यवस्था गरिने जनाएको छ ।
गाउँपालिकाले पूर्वाधार निर्माणमा सार्वजनिक‐निजी साझेदारी र उपभोक्ता समितिको परिचालनलाई प्रोत्साहन गर्ने भएको छ । योजनाहरूमा

स्थानीय जनताको अपनत्व बढाउनका लागि उपभोक्ता समिति मार्फत सञ्चालन हुने आयोजनाहरूमा अनिवार्य रूपमा १० प्रतिशत लागत बेहोर्नुपर्ने पुरानो नीतिलाई निरन्तरता दिइएको छ । निजी क्षेत्र र उपभोक्ता समितिकै सहकार्यमा निर्माण सम्पन्न हुन बाँकी रहेका वडा कार्यालयहरूका भवनहरू समेत आगामी वर्ष पूरा गरिने भएको छ ।

चौरीदेउराली गाउँपालिकाले आफ्ना नागरिकलाई गुणस्तरीय सञ्चार सेवा पुर्याउन नेपाल टेलिकम र अन्य इन्टरनेट सेवा प्रदायक संस्थाहरूसँग सहकार्य गर्ने नीति लिएको छ । सञ्चार सञ्जाल नपुगेका आवश्यक स्थानहरूमा नेपाल टेलिकमको नयाँ टावर जडानका लागि विशेष पहल गरिने बताइएको छ । यसका साथै, गाउँपालिका क्षेत्रभित्र रहेका सामुदायिक विद्युत लाइनहरूको सुधार र व्यवस्थापनका कार्यहरूलाई समेत अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

संघ र प्रदेश सरकारसँग आवश्यक समन्वय गर्दै बाँकी रहेका अन्य ठूला पूर्वाधारका आयोजनाहरूलाई समेत निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि निर्माण भइसकेको ‘गाउँ शिक्षा योजना’लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने घोषणा गरेको छ । आर्थिक रूपमा कमजोर विद्यालयहरूलाई राहत दिन तहगत रूपमा कार्यालय सञ्चालन खर्च उपलब्ध गराउने नयाँ कार्यको सुरुवात गरिने नीतिमा उल्लेख छ ।

संविधानको मर्म अनुरूप अनिवार्य र निःशुल्क शिक्षाको प्रत्याभूतिका लागि अति विपन्न, दलित, गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई आर्थिक अभावकै कारण पढाइबाट वञ्चित हुन नदिन ‘अध्यक्ष विद्यार्थी कोष’ स्थापना गरिने भएको छ ।

विद्यार्थीहरूलाई कृषि सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिँदै आयआर्जनका कार्यमा संलग्न गराइने उल्लेख छ ।
विद्यालयहरूमा ई(हाजिरी र सिसिटिभी जडान गरी कार्य वातावरण चुस्त बनाइनेछ भने इन्टरनेट सेवालाई नियमित र गुणस्तरीय बनाइने नीति लिइएको छ ।

प्रत्येक शुक्रबार विद्यालयहरूमा वक्तृत्वकला, सामान्य ज्ञान, खेलकुद र सङ्गीत जस्ता व्यावहारिक र सिर्जनशील कक्षा सञ्चालन गरिनेछ ।
बालविकास शिक्षक र विद्यालय कर्मचारीको प्रोत्साहन अनुदानलाई निरन्तरता दिइएको छ । साथै, शैक्षिक गुणस्तर कायम गर्न कार्य सम्पादन मूल्याङ्कनका आधारमा प्रधानाध्यापकहरूलाई त्रैमासिक रूपमा थप भत्ताको व्यवस्था गरिनेछ । विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दी मिलान समेत गरिने उल्लेख छ ।

यसका साथै, युवाहरूलाई सरकारी सेवा प्रवेशमा प्रोत्साहन गर्न लोक सेवा आयोग र शिक्षक सेवा आयोगका लागि भौतिक तथा अनलाइन तयारी कक्षा सञ्चालन गर्ने नवीन कार्यक्रम नीतिमा समेटिएको छ ।

नागरिकको स्वास्थ्यमाथिको आर्थिक भार कम गर्न गाउँपालिकाले स्वास्थ्य बीमा कार्यक्रममा सबै पालिकाबासीलाई आबद्ध गराउने रणनीति लिएको छ । बीमा कार्यक्रमलाई सहज बनाउन नयाँ दर्ता सहयोगीहरू छनोट गरिने भएको छ ।

सुत्केरी हुन अस्पताल वा बर्थिङ सेन्टर जाने महिलाहरूका लागि गाउँपालिकाभरि पूर्ण निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ। आर्थिक अवस्था कमजोर भएका अन्य नागरिकले पनि यो निःशुल्क सेवा पाउने भएका छन् ।

धुसेनी शिवालय अस्पतालको सेवालाई थप प्रभावकारी बनाइनेछ भने दुती सामुदायिक स्वास्थ्य इकाईको सुदृढीकरणका लागि आवश्यक बजेट व्यवस्था गरिने भएको छ ।

बढ्दो मानसिक स्वास्थ्य समस्या न्यूनीकरणका लागि विद्यालय र समुदायस्तरमा मनोपरामर्श, तनाव व्यवस्थापन र योग सम्बन्धी कार्यक्रम चलाइने भएको छ ।

सरकारले तोकेका निःशुल्क औषधिहरू सबै स्वास्थ्य संस्थाबाट नियमित उपलब्ध गराइनेछ भने नागरिकको पहुँच विस्तारका लागि विशेषज्ञ स्वास्थ्य शिविर र विद्यालयहरूमा नियमित विद्यार्थी स्वास्थ्य परीक्षण गरिने नीति तथका कार्यक्रम ल्याएको छ ।
गाउँपालिका पूर्णखोप घोषणा भइसकेको सन्दर्भमा यसको दिगोपनाका लागि बालकालिकाको खोप कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता समेत जनाइएको छ ।

खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकाले ‘अध्यक्ष कप’ र विद्यालय स्तरीय ‘राष्ट्रपति रनिङ्ग शिल्ड’ जस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिने भएको छ । गाउँपालिका भित्रका माध्यमिक विद्यालयहरूमा तेक्वान्दो खेललाई विशेष रूपमा प्रोत्साहित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

जिल्ला, प्रदेश तथा विभिन्न तहका खेलकुदमा सहभागी हुने खेलाडी तथा व्यवस्थापन टोलीलाई पालिकाको तर्फबाट आवश्यक सहयोग र विधागत रूपमा योगदान र्पुयाउने खेलाडीहरूलाई सम्मान गरिने योजना अघि सारिएको छ ।

गाउँपालिकाका अध्यक्ष रेणुका चौलागाईँद्धारा गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम अनुसार उत्पादन वृद्धि, प्रविधिको उपयोग, र कृषक कल्याणमा केन्द्रित रणनीतिहरू समेटिएका छन् ।

गाउँपालिकाले आधुनिक कृषिलाई बढावा दिन कृषकहरूको माग र आवश्यकताका आधारमा कृषि यान्त्रिकरण अनुदान उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने भएको छ । यसैगरी, किसानलाई रासायनिक मल सहज रूपमा उपलब्ध गराउन सदरमुकामदेखि प्रत्येक वडासम्म लाग्ने ढुवानी भाडा गाउँपालिकाले नै ब्यहोर्ने व्यवस्था मिलाइएको छ ।

यो भाडा दर दूरीको आधारमा तय गरिने र मल वितरणको प्रभावकारी अनुगमन समेत गरिने अध्यक्ष चौलागाईले बताउनुभयो। कृषकहरूलाई आवश्यक बाली बीउहरू विशेष अनुदानमा वितरण गरी व्यावसायिक उत्पादन प्रणालीमा जोड दिइने नीतिमा उल्लेख छ ।

उत्पादित कृषि उपजहरूको बजारीकरणका लागि यातायातको सहज पहुँच स्थापित गर्न गाउँपालिकाले कृषि एम्बुलेन्सलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ । गाउँपालिका भित्रका उद्यमशील कृषकहरूलाई प्रोत्साहित गर्न सम्मान र पुरस्कारको व्यवस्था सहित ‘कृषक हातेमालो कार्यक्रम’ सञ्चालन गरिने भएको छ। साथै, हालसम्म अनुदानमा वितरित कृषि उपकरणहरूको अवस्था, नवीकरण र त्यसले उत्पादकत्वमा पारेको प्रभावको सर्भेक्षण मापन तथा अभिलेखीकरणको थालनी गरिने भएको हो ।

उत्पादन वृद्धिका लागि गाउँपालिकाका सबै क्षेत्र समेटिने गरी माटो परीक्षण गरिने र माटो सुहाउँदो बाली लगाउन किसानलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । स्थानीय रैथाने बालीहरू जस्तैस् कोदो, फापर र खुर्सानीको बीउ संरक्षण, खेती विस्तार र बजारीकरणको व्यवस्था मिलाइने भएको छ । यी रैथाने बालीहरूको संरक्षण गर्दै गाउँपालिकामा ‘पूर्ण अर्गानिक भिलेज’ को सम्भाव्यता अध्ययन समेत अघि बढाइने भएको छ ।

पशुपालन क्षेत्रको विकासका लागि पशुहरूमा देखिने विभिन्न रोग विरुद्धका औषधिहरू खरिद गरी घरदैलोमै निःशुल्क उपचार तथा औषधि वितरण गरिने भएको छ । प्राकृतिक रूपबाट गर्भाधान सम्भव नभएका पशुहरूका लागि निःशुल्क कृत्रिम गर्भाधान कार्यलाई निरन्तरता दिइने उल्लेख छ ।

विपद र महामारीका कारण पशुपालन व्यवसायमा हुने क्षति न्यूनीकरणका लागि पशु बिमा कार्यक्रमले निरन्तरता पाएको छ भने पिआर र लम्पी स्किन जस्ता महामारीजन्य रोग विरुद्ध विशेष कार्यक्रमहरू सञ्चालन गरिने भएको छ ।

गाउँपालिकाभित्र कृषि बालीमा बाँदर तथा अन्य वन्यजन्तुले र्पुयाउने क्षति कृषकहरूका लागि ठूलो चुनौती बन्दै आएको सन्दर्भमा यस वर्ष गाउँपालिकाले विशेष चासो देखाएको छ ।

वन्यजन्तु र बाँदरले पुर्याउने क्षति न्यूनीकरण गर्न आवश्यक प्रविधि तथा उपकरणहरूको खरिदमा सहयोग गर्ने र यसका लागि विशेष पहल कदमी चालिने नीतिमा उल्लेख छ ।

आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि तर्जुमा गरिएको बजेट समेत मंगलबार आयोजित सभामा पेश गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष शेर बहादुर लामाको प्रतिकुल स्वास्थ्य अवस्थाका कारण आर्थिक वर्ष २०८३/०८४ को बजेट पनि गाउँपालिका अध्यक्ष रेणुका चौलागाईँले नै सभामा प्रस्तुत गर्नुभएको थियो ।

सभामा रु. ५६ करोड ७३ लाख ८२ हजार १८० को अनुमानित बजेट पेश गरिएको हो । जसमा कुल विनियोजन मध्ये संघ र प्रदेश सरकारको तर्फबाट सशर्त कार्यक्रमबाहेक चालुतर्फ १४ करोड ४१ लाख ६७ हजार हुने अनुमान गरिएको छ ।

गाउँपालिकाको आगामी नीति तथा कार्यक्रमका साथै बजेट सभाले सर्वसम्मत पास गरेको छ । सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष चौलागाईँले आर्थिक वर्षको अन्त्यतिर मात्रै हुने बजेट कार्यन्वयनको चाप अन्त्य गर्दै यो पटक आर्थिक वर्षको सुरुवातसँगै कार्यन्वयनमा लैजाने प्रतिवद्धता जनाउनुभयो । यसका लागि सरकारी विदा बाहेकको समय कार्यालय तथा कार्यक्षेत्रमा रहेर काम गर्न कर्मचारीहरुलाई पालिका अध्यक्ष चौलागाईँले निर्देशन समेत दिनुभएको थियो ।

सभामा कार्यपालिका सदस्य वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्षहरुका साथै कर्मचारी प्रशासनको तर्फबाट सभा सञ्चालक प्रमुख प्रशासकीय अधिकृत चक्र बहादुर श्रेष्ठले गाउँपालिकाले अंगीकार गरेको नीति, कार्यक्रम र बजेटको सफल कार्यन्वयनका लागि  प्रतिवद्धता जनाउनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !