भक्तपुर–प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्र नेपालद्वारा बोडेमा सञ्चालित मेलमिलाप सम्बन्धी ८ दिवसीय आधारभूत तालिम शानिबार सम्पन्न भएको छ ।

प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्र नेपालका कार्यकारी निर्देशक चुप बहादुर थापाको अध्यक्षता तथा सर्वोच्च अदालतका रजिस्ट्रार एवं मेलमिलाप परिषदका सदस्य सचिव भद्रकाली पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित समापन समारोहमा तालिमका सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गनुृहुदै प्रमुख अतिथि सर्वोच्च अदालतका रजिस्ट्रार एवं मेलमिलाप परिषदका सदस्य सचिव पोखरेलले शान्ति, सहअस्तीत्त्वपूर्ण समृद्ध समाज निर्माणका लागि मेलमिलापकर्ताहरुको महत्वपूर्ण भुमिका हुने बताउनुभयो ।

प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्र नेपालका कार्यकारी निर्देशक चुप बहादुर थापाले मेलमिलापकर्ताहरु समाजमा फाटेको मन सिउने डाक्टरको रुपमा स्थापित भएको बताउनुभयो ।

तालिमका मुख्य प्रशिक्षक प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्र नेपालका कार्यक्रम व्यवस्थापक एवं अधिवक्ता दिपकराज भट्टले सहभागिहरुले तालिममा सिकेका र अभ्यास गरेका ज्ञान सीप व्यवहारमा प्रयोग गर्ने क्रममा आ–आफ्नो स्थानीय क्षेत्रमा मेलमिलापको अवधारणालाई विकास गर्ने, मुद्धाहरुको समाधानमा सहजिकरणमा लाग्ने कार्य गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

तालिममा प्रशिक्षक मिना सुयल क्षेत्री, कमल श्रेष्ठ, अप्सरा थापा र रीता मानान्धरले पनि सहजिकरण गर्नुभएको थियो ।

यहि जेष्ठ २३ गतेदेखि सञ्चालन भएको तालिममा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, सर्लाही र महोत्तरीबाट २७ जना सहभागि थिए । ८ दिनको तालिम लिएसँगै अब उनिहरुले स्थानीय क्षेत्रमा मेलमिलापकर्ताको रुपमा आफ्नो भुमिका निर्वाह गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस !