
काठमाडौं–स्थानिय सम्पदा, संस्कृति र सम्पदा प्रर्वद्धन गर्ने ध्येयले झण्डै ६ बर्षअघि शुरु भएको ‘जेसुम यात्रा’ यो पटक बाग्मतीको उदगमस्थल पुगेको छ ।
कलाका विभिन्न प्लेटफार्ममार्फत प्रस्तुत हुने यो अभियान यसपटक बाग्मती नदी शुरु हुने बुढानीलकण्ठस्थित शिवपुरीको ऐतिहासिकस्थल वाग्द्धार पुगेको हो ।
‘यसपटक हामीले बाग्मती सभ्यताको उदगमस्थललाई रोज्यौं’, अभियानका संस्थापक एवं बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर समेत रहेकी साहित्यकार अनिता लामाले भन्नुभयो, ‘बिचमा केही समय रोकिएपछि फेरि यो अभियान शुरु गरेका हौं ।’
काभ्रेको धुलिखेलबाट शुरु भएको अभियानले नगरकोट, भक्तपुर, बौद्ध, तरकेश्वर, विष्णुद्धार, धनकुटा लगायत विभिन्न थलोका सम्पदास्थल पुगेर प्रत्यक्ष साहित्य रचना, चित्रकला सिर्जना र नाट्य प्रस्तुति गरिसकेको छ ।
वाग्द्धारसम्म पदयात्रा गर्दै कवि अनिता लामासंगै नाराद बज्राचार्य, फूलकुमार बमजन, स्नेह सायमी, बालकृष्ण बस्नेत, फूलमान वल, जयन्ता पोखरेल लगायतले कविता सिर्जना गरेर प्रत्यक्ष सुनाउनुभयो भने दिपेन्द्र बनेपाली, एनबी गुरुङ, विनोद गुप्ता, चन्द्र श्रेष्ठ, विपना महर्जन, नेमबहादुर तामाङ, मनरा प्रजापति, लुनिभा महर्जन लगायतका चित्रकारहरुले लाइभ चित्र कोर्नुभयो ।
यात्रामा सहभागि सरोज अर्याल, केदार श्रेष्ठ, अनामिका गौतम, समापिका गौतम लगायतका रंगकर्मीको जीवन र प्रकृतिसँगको सम्बन्ध जोडिएको थिममा ‘ठेगाना’ नामक छोटो नाट्य प्रस्तुति रह्यो ।
बुढानीलकण्ठ नगरपालिकाको व्यवस्थापकीय सहकार्य रहेको यसपटकको यात्रामा जेसुम अभियन्ताहरुलाई बुढानीलकण्ठका मेयर मिठाराम अधिकारीले रुद्राक्षको माला लगाएर स्वागत गर्नुभएको थियो ।
त्यसपछि कवि, चित्रकार, संचारकर्मी र रंगकर्मीहरुको टोलीले नागी गुम्बाबाट यात्रा तय गर्दै बाग्द्धार हुँदै शिवपुरी पिकसम्म पुगेर टुंग्याएका थिए ।
‘स्थानिय संस्कृति र सम्पदा प्रबद्र्धनमात्रै हैन, यो यात्रा विश्वव्यापी प्रकोप बन्दै गइरहेको जलबायु परिर्तनप्रतिको सचेतना पनि हो’, प्रेस काउन्सिलका अध्यक्ष समेत रहेका जेसुम संस्थापकमध्ये एक बालकृष्ण बस्नेतले भन्नुभयो, ‘अभियानको नाम भने तामाङ भाषाबाट लिएका छौं, जसको अर्थ हुन्छ, सबैभन्दा सुन्दर ।’
अभियानलाई साथ दिन बाग्मती प्रदेशका पुर्व सासद एवं नेकपा एमाले काठमाडौ जिल्ला अध्यक्ष दीपक निरौला पनि सहभागि हुनुभएको थियो । आफ्नो यो दोस्रो सहभागिता भएको बताउदै उहाँले जेसुम अभियान देशको समृद्धिसंग पनि जोडिएको बताउनुभयो । बिचमा केही समय रोखिएको भएपनि अब यो यात्राले निरन्तरता पाउने जेसुम संयोजक लामाले बताउनुभयो ।
यात्राभर सेलो गायक एवं कवि फूलकुमार बमजनले आफ्नो अनौपचारिक प्रस्तुति दिएर माहौल रमाइलो पार्नुभएको थियो । रैथानै संस्कृति,सभ्यता,कलाको प्रवद्र्धनमा जोडिन पााउँदा खुसी लागेको बम्जनको भनाई छ ।