नेकपा एमाले काभ्रेको एघारौं अधिवेशन आउँदो जेठ २८,२९ र ३० गते धुलिखेलमामा हुँदैछ । सो अधिवेशनबाट चुनिएर आएको नेतृत्वले काभ्रेपलान्चोक एमालेको नवीन कार्यभार उचाल्छ कि उचाल्दैन, नयाँ नेतृत्व कस्तो आउने र त्यसले समग्र काभ्रेको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक नेतृत्व बहन गर्न सक्छ कि सक्दैन भन्नेमा आम कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरुले चासोको रुपमा हेरेका छन् ।
अब आउने एमाले नेतृत्वले नेता कार्यकर्तामा मात्र हैन, जनमानसमा आशा सञ्चार गर्छ कि गर्दैन ? पुरानो होइन, नयाँ एमाले बनाउने अध्यक्ष केपी शर्मा ओलीको योजना, विचार, सङ्गठन र नेतृत्वको प्रश्न निरुपण गर्नु नै अधिवेशनको प्रमुख जिम्मेवारी हुनेछ । एमालेका कार्यकर्ताहरुले नयाँ जोश, जाँगर र संकल्पसहित नयाँ नेतृत्व चयन गर्नुपर्नेछ ।
विगतको अनुभवबाट सिकेका पाठलाई आधार बनाएर पार्टीलाई कसरी सवल, सुदृढ, एकताबद्धमात्रै होइन, सबै कम्युनिष्टको अकर्षणको केन्द्र बनाउने विश्वासिलो योजना बनाउन जरुरी छ ।
एमाले काभ्रेको अधिवेशनबाट पार्टीको आन्तरिक जीवनलाई लोकतान्त्रिका बनाउन तल्लीन हुनुपर्ने नेताहरु एकापसमा सिगौंरी खेल्दा कार्यकर्ताहरुमा भने निराशा पैदा गराइरहेको छ । मिसन ग्रासरुट र मध्यपहाडी अभियान सञ्चालन गरेको काभ्रेको एमाले आज कहाँ छ ?
अबको दिनमा पार्टी र संगठन कस्तो बनाउने, अन्तरपार्टीबाट आएकाहरुलाई कसरी व्यवस्थापन गर्ने र पार्टी र संगठनलाई कहाँसम्म लैजाने भन्नेतर्फ नेताहरुको ध्यान पुग्नुपर्नेमा नेतृत्व कसरी हत्याउने र आफू अनुकूल बनाउने भन्ने ध्याउन्नमा छन् ।
नेता कार्यकर्तामा हिजोको आदर्श र बलिदानी भावनामा स्खलन आएको छ । नेताहरुमा आएको आर्थिक अपारदर्शिता, कार्यकर्तामा बढेको स्वार्थ र ‘एसम्यान’हरु जम्मा गर्ने होडबाजी बढेको छ । पार्टीभित्र अवसरवाद, कृपावाद र अराजकता जस्ता विकृति मौलाएका छन् ।
हो, यही धरातलीय यथार्थमा उभिएर पार्टीभित्रको समस्या समाधान गर्न, पार्टीमा हराउँदै गएको आलोचना र आत्मालोचना एवं दण्ड र पुरस्कारको विधिलाई पुनर्जीवित गर्दै अबको एमाले कस्तो बनाउने भन्ने प्रश्नको उत्तर खोज्ने जिम्मेवारी जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको हुनेछ ।
सदस्य संख्या र मतदाताको हिसाब गर्दा समग्रमा आज पनि एमाले काभ्रे जिल्लाकै सबैभन्दा ठूलो दल हो । गत स्थानीय तह र संसदीय निर्वाचनमा बलियो विपक्षी गठबन्धन (कांग्रेस र माओवादी) सँग एक्लै भिडेको एमालेले आफ्नो मतलाई जोगाएको थियो । एमाले भित्रको आन्तरिक समस्या समयमै समाधान हुन नसक्दा केही स्थानमा पराजित हुन पुगेको तीतो यथार्थ छ ।
एमाले काभ्रेको अबको नेतृत्वले स्थायी गुटबन्दीलाई संस्थागत गर्न होइन, सदाका लागि रोक्ने सार्वजनिक प्रतिज्ञा गर्नुपर्नेछ । नेताहरुले बाटो बिराउँदा कार्यकर्ताले सास्ती भोग्ने अवस्थाको अन्त्य हुनुपर्छ । नेताहरुको अभिव्यक्ति, हाउभाउ, चालचलन अनुशासित, मर्यादित र शालीन हुनुपर्छ । आम कार्यकर्ताको अपेक्षा यही नै हो ।
यसैगरी अघिल्लो संसदीय निर्वाचनमा जिल्लाको १ संघीय निर्वाचन क्षेत्र र सबै प्रदेशसभामा एमालेका उम्मेदवार पराजित भएकोमा यस पटक प्रत्यक्षतर्फ जिल्ला नै शून्य हुन पुग्यो । तर हाम्रो नेता गोकुल कमरेड जिल्ला नेतृत्व गर्विलो साथ सदनमा दमदार उपस्थितिले अझै मजबुत एमाले भएको महसुस भएको छ ।
नेता कार्यकर्तामा हिजोको आदर्श र बलिदानी भावनामा स्खलन आएको छ । नेताहरुमा आएको आर्थिक अपारदर्शिता, कार्यकर्तामा बढेको स्वार्थ र ‘एसम्यान’हरु जम्मा गर्ने होडबाजी बढेको छ । पार्टीभित्र अवसरवाद, कृपावाद र अराजकता जस्ता विकृति मौलाएका छन् । हो, यही धरातलीय यथार्थमा उभिएर पार्टी भित्रको समस्या समाधान गर्न, पार्टाीमा हराउँदै गएको आलोचना र आत्मालोचना एवं दण्ड र पुरस्कारको विधिलाई पुनर्जीवित गर्दै अबको एमाले कस्तो बनाउने भन्ने प्रश्नको उत्तर खोज्ने जिम्मेवारी जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको हुनेछ ।
कुनै पनि नेतामा अतिवाद र दम्भपूर्ण प्रस्तुति देखिनु राम्रो संकेत होइन । एमाले काभ्रेको अबको नेतृत्वले पार्टीभित्र सबैलाई समेट्ने, फराकिलो हृदय देखाउने हिम्मत जुटाउनुपर्छ । गुटबन्दी र आन्तरिक कलहले पार्टी सही गतिमा अघि बढ्न सक्दैन भन्ने तथ्यलाई नेतृत्वले बेलैमा बुझ्नु जरुरी छ ।
एमालेमा सच्चिनुपर्नेमा नेताहरुमात्रै होइनन् कार्यकर्ता पनि छन् । गुटको पछि लागेर एउटा नेतालाई देवत्वकरण गर्ने र अर्कालाई राक्षस र पत्रु सावित गराउँदै चिया चौतारोमा मानमर्दन गर्ने काम कार्यकर्ताले पनि छाड्नुपर्छ । सीमित व्यक्तिमा रमाउँदा सिंगो पार्टी सकिनसक्छ भन्ने कुराको हेक्का अबको नेतृत्वले राख्नुपर्छ ।
यथार्थमा कुनै पनि पार्टीको लागि प्राणघातक रोग भनेको गुटबन्दी र स्वार्थ समूह नै हो । यसले गर्दा नेता कार्यकर्ता दुई पक्षमा विभाजितमात्रै भएका छैनन्, उनीहरुका मन पनि फाटेका छन् । एमालेले जिल्ला अधिवेशनबाट कार्यकर्ताको मन धुजाधुजा बनाउने होइन, मिलाउन पर्नेछ ।
धाँजा फाटेको सम्याउनुपर्नेमा झन गहिरो खाडल खन्ने काम शुरु हुन थालेको देखिँदैछ । अध्यक्ष ओलीले भने जस्तै एमालेलाई पुरानो होइन, नयाँ, जुझारु, बलियो र एकताबद्ध बनाउन काभ्रेको नेताहरुले व्यक्तिगत इबी त्यागेर फराकिलो छाती बनाउन जरुरी छ । अबको नेतृत्वका लागि यो निकै ठूलो चुनौती बन्नेछ ।
खुसराज लामा एमाले काभ्रेका युवा नेता हुनुहुन्छ ।