दोलखा–विक्रम संवतको नयाँ वर्षको आरम्भमै प्राकृतिक छटाले मात्र हैन ऐतिहासीक,धार्मिक,सांस्कृतिक महत्व बोकेको दोलखाको सैलुङको डाँडामा सयौं ताम्बा डम्फूरेहरु उक्ले । ब्रम्हाण्ड,मानव सृष्टि,तामाङ सभ्यता र संस्कृतिका इतिहासका परम्परागत ज्ञाता ताम्बाहरुले डम्फूको गीतमा यो विषय सँगै डम्फूको सृष्टिकर्ताकै गीत गाए ।
मौलिक बाजाको रुपमा रहेको डम्फूको सृष्टिकर्ता मानिएको पेङदोर्जेको इतिहास खोतले । यात्रामा सहभागि सांस्कृतिक अभियन्तादेखि राजनीतिक दलका नेता,सांसद सम्मले पेङदोर्जेको उद्गमस्थल भनेर सैलुङमा चलेको किंवदन्ती र इतिहासलाई स्थापित गर्न लाग्ने प्रण गरे ।
तम्बा सङ्घ नेपाल शैलुङ ताम्बा ह्युलखोरद्वारा आयोजित तम्बा सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्नुहुदै प्रतिनिधि सभाका सदस्य गङ्गा कार्कीले पेङदोर्जेको उद्गमस्थल सैलुङ र नाताङखर्क आसपास रहेको किंवदन्ती र इतिहासलाई स्थापित गर्न सदनमा गम्भीरतापूर्वक उठाउने प्रतिवद्धता जनाउनुभयो ।
कार्कीले यो तथ्यलाई स्थापित गर्न रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली लगायतका जिल्लाहरूबाट सहकार्य गरी बृहत रुपमा लाग्न जरुरी रहेको औँल्याउनुभयो ।
तामाङ भाषा, कला र संस्कृतिको उजागर गर्ने उद्देश्यले गरिएको कार्यक्रममा शैलुङ गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्की थापाले सैलुङमा पेङदोर्जेले निर्माण गरिएको डम्फु बजाएर प्रदर्शन गरिएकोमा खुसी लागेको बताउनुभयो ।
‘डम्फुको उत्पत्ति गर्ने व्यक्ति पेङदोर्ज सैलुङकै भएको र यहीबाट डम्फुको आविष्कार गरेको हुँदा उहाँलाई राष्ट्रिय विभूतिको रूपमा नामकरण गर्नुपर्छ ।’ यस खालको दाबीका साथ उहाँले भन्नुभयो,‘यसको लागि वैज्ञानिक रूपमा खोज अनुसन्धान गरी दस्ताबेज तयार गर्न जरुरी छ ।’
तम्बा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष धावावाङ्गेल मोक्तानले पेङदोर्जेको उद्गमस्थल सैलुङ र नाताङखर्क नै रहेको जिकिर गर्नुभयो । उहाँले सैलुङको मुनि रहेको डाँफे ढुङ्गा रहेको,त्यो ढुङ्गा डाँफे र मुनालसँग जोडिएको इतिहास रहेको उल्लेख गर्नुहुदै त्यो पनि प्रमाणको रूपमा हेर्न सकिने बताउनुभयो ।
महोत्सवमा सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली,दोलखाका लगायतका जिल्लाहरूबाट सहभागि ताम्बाहरुले आफ्नो् प्रस्तुतीका साथै डम्फु प्रदर्शन गरिएको थियो ।
कार्यक्रमका सभाध्यक्ष बुद्धिबहादुर तामाङ ‘सुनिल’ले पेङदोर्जेको इतिहास,ताम्बा संस्कृतिको प्रवद्र्धन एवं सांस्कृतिक पर्यटनको विकासका लागि यस खालको महोत्सव प्रत्येक वर्ष हुने जानकारी दिनुभयो ।
आदि मानव पेङदोर्जे,डम्फू सृष्टिको विभिन्न किंवदन्ती जोडिएको,देवताहरुको बास,तपश्या गरेकाप पवित्र स्थल मानिएको रहेको सय थुम्काहरु सहितको सुन्दर सैलुङ बौद्ध धर्मावलम्बीहरु मात्र हैन अन्य समुदायका आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षक गन्तव्य बन्दै गएको छ ।
photo M Santosh Yonjan Tamang