काठमाडौं–नेपाल सरकारले फागुन १३ गते आइतबारदेखि आउँदो चैत ७ गतेसम्मका लागि दादुरा–रुबेलाविरुद्धको खोप अभियान थालेको छ । भूकम्प प्रभावित दुई जिल्ला जाजरकोट र रुकुमपश्चिममा यसअघि नै खोप लगाइसकेकोले ती बाहेक ७५ वटा जिल्लामा आजदेखि खोप अभियान सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अभियानमा ५७ लाख ४२ हजार ९९३ जनालाई खोप प्रदान गर्ने लक्ष्य रहेको छ । तराईका २१ जिल्ला र काठमाण्डौ उपत्यकाका तीन गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई र बाँकी जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाईदैछ ।
सरकारले नियमित खोप अन्तर्गत हरेक बालबालिकालाई नौ महिना र १५ महिनामा दादुरा–रुवेला विरुद्धको खोप लगाउँदै आएको छ ।
त्यसरी नियमित खोप अन्तर्गत दादुरा–रुवेला विरुद्धको दुवै मात्रा खोप लगाएका बालबालिकाले पनि अभियानमा खोप लगाउनु पर्ने स्वास्थ्य विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले बताउनुभयो । दादुरा–रुवेलाको खोपको पहिलो मात्राले ८५ प्रतिशत, दुई मात्राले झण्डै ९५ प्रतिशत र तीन मात्राले शतप्रतिशतकै हाराहारीमा सुरक्षा प्रदान गर्ने भएकोले अभियानमा खोप लगाउन डा. गौतमको सुझाव छ ।
उहाँले खोप लगाउँदा सामान्य दुखाइ भए पनि अरु समस्या नहुने भएकोले ढुक्क भएर खोप लगाउन र अत्याधिक ज्वरो आएको, अस्पतालमा भर्ना भएर उपचार गराइरहेको तथा क्यान्सर लगायतका उपचार गराइरहेको अवस्थामा भने स्वास्थ्यकर्मीसँग सल्लाह गर्नुपर्ने बताउनुभयो ।
२०७९ सालको मङ्सिर ३ गतेदेखि गएको पुस १५ सम्मको तथ्याङ्क अनुसार नेपालमा एक हजार ३४९ जनामा दादुरा सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये एक जनाको ज्यानसमेत गएको थियो । नेपालमा बितेको ३५ वर्षदेखि दादुरा र ११ वर्षदेखि दादुरा रुबेला खोप अभियान सञ्चालन हुँदै आइरहेको छ ।
सरकारले सन् २०१९ मै दादुरा–रुबेला रोग नियन्त्रण गर्ने लक्ष्य राखेको थियो । त्यो लक्ष्य प्राप्त नभएपछि पुनः २०२३ सम्ममा नियन्त्रण गर्ने अर्को लक्ष्य रोखेको थियो । सन् २०२३ को लक्ष्यसमेत नभएपछि पुनः सन् २०२६ सम्ममा निवारण गर्ने अर्को लक्ष्य सरकारले निर्धारण गरेको हो ।
photo : https://www.unicef.org/nepal/ne