![](https://namobuddhakhabar.com/wp-content/uploads/2024/02/manch-3.jpg)
प्रधानमन्त्रीद्धारा सम्बोधन,सञ्चारकर्मी दोङद्धारा लिखित ‘सेमला काअीतेन’ विमोचन
काठमाडौं–मञ्जुश्री संवत् अनुसार २८६० सोनाम ल्होछार(नयाँ वर्ष) डुक मु पुख्री ल्होछारको भव्य स्वागत गरिएको छ ।
छिमेकी मुलुक चीन,मंगोलिया,जापान,हङकङ,भियतनाम लगायतका दर्जनौं देशहरुमा मनाइने सोनाम ल्होछार नेपालमा पनि तामाङहरुले विशेष रुपमा स्वागत गरेका हुन् ।
ल्होछारको अवसरमा राजधानीमा वृहत ल्होछार साँस्कृतिक महोत्सव सम्पन्न भयो । बिहीबारबाट टुडिखेलमा शुरु भएको महोत्सव अन्तर्गत शनिबार आयोजित समारोहलाई प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सम्बोधन गर्नुभयो ।
उहाँले सांस्कृतिक,धार्मिक,सामाजिक महत्वका साथै प्रकृति तथा खेती प्रणालीसँग जोडिएको ल्हाछारले आपसी सद्भाव र एकताका लागि बल पुग्ने भन्दै शुभकामना व्यक्त गर्नुभयो । मुलुकका सबै जातजातिको भाषा,संस्कृति,पर्वको संरक्षण,प्रवद्र्धनमा सरकार प्रतिवद्ध रहेको उहाँको भनाई छ ।
प्रधानमन्त्री प्रचण्डले जनयुद्ध,जनआन्दोलन,जनजाति तथा मधेसी आन्दोलनको बलमा प्राप्त भएको धर्मनिरपेक्षता,संघीय लोकतान्त्रिक गणतन्त्रामक व्यवस्थालाई बलियो बनाउन क्रान्तीकारी शक्तिहरु एक ठाउँमा जुट्न आवश्यक रहेको औंल्याउनुभयो ।
यो मुलुकका महिला,दलित,आदिवासी जनजाति तथा उत्पीडित समुदायहरुको उत्थानका लागि महिला आयोग,मुस्लिम आयोग,जनजाति आयोग,थारु आयोग जस्ता संवैधानिक आयोगहरुको व्यवस्था गरेको उहाँले बताउनुभयो ।
राज्यका हरेक क्षेत्रमा समानुपातिक समावेशीताको अभ्यासको क्रममा अब हुने मन्त्रिमण्डल पुर्नगठनका क्रममा तामाङ समुदायबाट पनि प्रतिनिधित्व गराउने प्रतिवद्धता जनाउनुभयो ।
समारोहमा आदिवासी जनजाति अभियन्ता तथा नेपाल तामाङ घेदुङका पूर्व अध्यक्ष पर्शुराम तामाङ,पूर्व मन्त्री हितबहादुर तामाङ,दिलमान पाख्रिन,पूर्व राज्यमन्त्री पर्शुराम वाइबा,पूर्व सांसद शान्ति पाख्रीन,नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पा,टुल्कु ह्रेपोछे,नेपाल राष्ट्रिय तामाङ घेदुङका सल्लाहकार डा.छिरिङ योञ्जन,ताम्सालिङ संयुक्त संघर्ष समितिका प्रवक्त जयप्रसाद गोले लगायतले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
नेपाल तामाङ घेदुङको संयोजन,नेपाल तामाङ राष्ट्रिय घेदुङको उपसंयोजनमा गठित विभिन्न तामाङ संघसंस्थाहरु सम्मीलित राष्ट्रिय सोनाम ल्होछार २८६० डुक मुपुख्री ल्होछार मूल समारोह समितिद्धारा आयोजित महोत्सव तथा देश तथा विदेशमा रहेका तामाङहरुले विभिन्न कार्यक्रम गरेर भव्य रुपमा ल्होछार मनाईरहेको नेपाल तामाङ घेदुङका सहअध्यक्ष कुमार घिसिङले जानकारी दिनुभयो ।
मौलिक संस्कृतिको प्रवद्र्धनका साथै राज्य सामु आफ्नो आवाज बुलन्द गर्न,पहिचान सहितको संघीय राज्य स्थापित गर्न दवाव सिर्जना गर्न यो कार्यक्रम महत्वपूर्ण रहेको घेदुङका महासचिव जगत मान लामा दोङले बताउनुभयो ।
समारोहका बीच सञ्चारकर्मी शिशिर दोङद्धारा लिखित ‘सेमला काअीतेन’ पुस्तक विमोचन गरिएको थियो ।
आदिवासी जनजाति अगुवा एवं वरिष्ठ लेखक पर्शुराम तामाङ,पूर्व मन्त्री हित बहादुर तामाङ,पूर्व सांसद शान्ति पाख्रीन,नेपाल तामाङ घेदुङका सह अध्यक्ष कुमार घिसिङ लगायतका अतिथिहरुको बाहुलीबाट ‘सेमला काअीतेन’को विमोचन गरिएको हो ।
तामाङ भाषा,संस्कृति,कला साहित्यको प्रवद्र्धन,संस्कृति पुस्तान्तरण केन्द्रित यो पुस्तक निर्बन्ध संग्रहको रुपमा ल्याएको लेखक दोङले बताउनुभयो ।
शनिबारसम्म आयोजित महोत्सवमा तामाङ जातिको सांस्कृतिक संस्थाहरु ताम्बा,बोन्बो तथा लामा गुरुहरुद्धारा विशेष पूजाआजा,सांस्कृतिक झाँकी प्रदर्शन,परम्परागत गीत,नृत्यहरु साथमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चर्चित कलाकारहरुको प्रस्तुती रहेको थियो ।
यसैगरी तामाङ समुदायको विशेष खानाको परिकारहरु,तामाङ भेषभूषाहरु,तामाङ जातिसँग सम्बन्धित पुस्तक तथा अन्य जातिय पहिचान झल्कने परम्परागत वस्तुहरुलाई स्टलहरुमा विक्री तथा प्रदर्शनी गरिएको थियो नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविनकुमार वलले बताउनुभयो ।
महोत्सवले एकता र सांस्कृतिक पुर्नजागरणको अभियानमा समेत बल पुग्ने वलको धारणा छ ।
कार्यक्रममा सहभागि युवायुवतीहरु अधिकांश सांस्कृतिक भेषभूषामा सजिएका थिए ।
यसले मौलिक संस्कृति,भेषभूषा प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा रहेको आयोजकको भनाई छ । नेपालीहरुबीच एकता,सद्भाव,भातृत्वभाव झल्किने गरी अन्य समुदायका युवायुवती पनि महोत्सवमा सहभागि हुनु खुशीको सन्देश हो।
तामाङ समुदायले चन्द्रपात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न गुम्बा,घरघरमा पूजा गरी घर गायत सार्वजनिक स्थानहरुमा दज्र्यू गाड्ने,छो प्रसादहरु वितरण गर्ने,शुभकामना आदानप्रदान गर्ने,मान्यजनबाट आर्शिवाद ग्रहण गर्ने,चेलीबेटी,इष्टमित्र,कुटुम्बको भेटघाट,सामुहिक प्रितिभोज र सांस्कृतिक कार्यक्रम गरेर मनाउने गर्दछन् ।
नेपालमा सोनाम ल्होछार तामाङका साथै ह्योल्मो,मनाङ्गे,हुम्ली तामाङ,डोल्पो,तोप्केगोला,सिङ्सा,ताङ्बे,थकाली,जिरेल,खाममगर,दुरा,भोटे,नेस्याङ्बा र केहि शेर्पाहरुले पनि मनाउँछन् ।
यो पटक सोनाम ल्होछार र ग्याल्बो ल्होछार एकै पटक परेकोमा अधिकांश हिमाली शेर्पा समुदायले भने ग्याल्बो ल्छोछारको स्वागत गरेका छन् ।