काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण आगामी वर्षको बजेट प्रस्तुतपछि मात्र हुने भएको छ ।

प्रचण्डले निरन्तर ताकेता गरे पनि भारतीय पक्षले समय नदिएपछि’ उनको भारत भ्रमण आगामी वर्षको बजेट प्रस्तुतपछि मात्र हुने भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको व्यस्तताको कारण देखाउँदै भारतीय पक्षले दाहालको भ्रमण मिति धकेल्दै आएको इकान्तिपुर डट कममा खबर छ ।

दाहालको भारत भ्रमण सुरुमा वैशाख तेस्रो साता हुने भनिएको थियो, पछि फेरि वैशाख अन्तिम साताका लागि तयारी अघि बढाइएको थियो ।

परराष्ट्र स्रोतका अनुसार मंगलबारसम्म प्रधानमन्त्री दाहालले वैशाख २४ देखि तीन दिने भारत भ्रमण गर्ने अनौपचारिक तयारी हुँदै थियो तर बुधबार बिहान भारतीय पक्षबाट उक्त समयमा प्रधानमन्त्री मोदी अति व्यस्त हुने सूचना आएपछि फेरि धकेलिएको हो । अब प्रधानमन्त्री दाहालको भारत भ्रमण सम्भवतः जेठ १५ मा हुने आर्थिक वर्ष २०८१र८१ को बजेट प्रस्तुत भएपछि मात्र हुने भएको छ । ‘भारतीय चाहना पहिलेको मितिभन्दा दुई सातापछि दाहाललाई दिल्लीमा स्वागत गर्ने हो तर जेठको सुरुमा नेपालमा बजेट तयारीमा लाग्नुपर्ने भएकाले त्यसपछि मात्र भारत जाने प्रधानमन्त्रीको चाहना छ,’ स्रोतले भन्यो । दाहालको भारत भ्रमणको आन्तरिक तयारी पटक–पटक हुँदै आए पनि औपचारिक रूपमा मिति भने सार्वजनिक गरिएको थिएन ।

परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले सुरुवातमा वैशाख तेस्रो साता र त्यसपछि वैशाखकै अन्तिम साताको समयलाई मध्यनजर गरेर गृहकार्य गरेका थिए । वैशाख २७ मा कर्नाटक राज्यको विधानसभा निर्वाचन हुँदै छ । त्यसअघिको तीन दिन वैशाख २४–२६ मा मौन अवधि हुन्छ । ‘त्यही अवसरमा भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री दाहाललाई स्वागत गर्ने गरी गृहकार्य गरिएको थियो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘भारतले दुई साता सार्न आग्रह गरेपछि नेपालले बजेटपछि मात्र भ्रमण गर्ने सन्देश पठाएको छ ।’

भारत भ्रमणलाई मध्यनजर गरेर प्रधानमन्त्री दाहालले परराष्ट्रमन्त्रीमा कांग्रेस सांसद एनपी साउदलाई नियुक्त गरेका थिए । लगत्तै उनले साउदलाई भ्रमण तयारी गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले मन्त्रिपरिषद्ले पूर्णता पाएपछि मात्र भारत भ्रमण गर्दा उचित हुने बताए ।

मन्त्रालयका एक अधिकारीका अनुसार भ्रमणकै गृहकार्य गर्न भारतसँग उठाउने र सम्झौता गर्ने विषयमा एक महिनादेखि विभिन्न मन्त्रालयसँग छलफल भइरहेको छ । परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखा प्रमुख रामप्रसाद सुवेदीको संयोजकत्वमा एजेन्डाहरुको बारेमा छलफल भइरहेको छ । परराष्ट्रले वाणिज्य, ऊर्जा, भौतिक, रक्षा र कृषि मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयका प्रतिनिधिसँग आ–आफ्नो मन्त्रालयको एजेन्डाबारे छलफल गरिसकेको परराष्ट्र स्रोतले बतायो ।

दुई मुलुकबीच भ्रमणका दौरान हुन सक्ने साझेदारी र हुने छलफलको विषयमा परराष्ट्र मन्त्रालयले पनि गृहकार्य गरिरहेको छ । परराष्ट्र स्रोतका अनुसार भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको लागि हवाई रुटको प्रस्ताव, १३६ किलोमिटर काठमाडौं–रक्सौंल रेलमार्ग, ऊर्जा सम्झौता ९विद्युत् व्यापार र हाइड्रो कम्पनी०, ई–वालेटलगायत विषयमा छलफल गर्ने गृहकार्य भइरहेको छ ।

यसअघि प्रधानमन्त्री दाहालको भ्रमण चैत अन्त्यसम्म गर्ने गरी गृहकार्य गरिएको थियो तर भारतबाट निमन्त्रणा नै आएन । त्यसपछि भारतले प्रधानमन्त्री दाहाललाई निम्तो दियो तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यस्तताको कारण मिति तय हुन सकेन ।

प्रधानमन्त्री भएलगत्तै दाहालले पुस १२ मा एक भारतीय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने बताएका थिए । त्यसैलाई मध्यनजर राखेर दाहाल चीनमा भएको ‘बोआओ फोरम फर एसिया’ मा सहभागी हुन गएका थिएनन् । उक्त कार्यक्रम चैत १४ देखि १७ सम्म चीनको हैनान प्रान्तमा भएको थियो ।

दाहाल प्रधानमन्त्रीको रूपमा यसअघि दुईपटक भारत भ्रमण गरिसकेका छन् । पहिलोपटक प्रधानमन्त्री हुँदा सन् २००८ मा भने पहिलो भ्रमण चीनबाट गरेका थिए । बेइजिङ ओलम्पिकको समापन समारोहमा सहभागी हुन उनी चीन गएका थिए ।

नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो भ्रमण भारतबाट सुरु गर्ने परम्परालाई उनले तोडेका थिए । तर बेइजिङबाट फर्केलगत्तै उनले आफ्नो औपचारिक भ्रमण भारतबाटै हुने दाबी गरेका थिए । दाहाल सन् २०१६ मा दोस्रोपटक प्रधानमन्त्री हुँदा पनि आफ्नो औपचारिक विदेश भ्रमण भारतबाटै गरेका थिए ।
साभार :  इकान्तिपुर डट कम

प्रतिक्रिया दिनुहोस !